बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको संयुक्त चुनावी सभा आज आठबीसकोट नगरपालिकाको राडीमा सम्पन्न भएको छ । गठबन्धनको छैटौं चुनावी सभा आज राडीमा भएको हो । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै गठबन्धनले जिल्लाका विभिन्न ठाउँमा संयुक्त चुनावी सभाहरु संचालन गर्दै आएको छ ।
जसअनुसार आज राडीमा गठबन्धनका प्रत्यक्ष तर्फका सझा उम्मेदवार, गठबन्धन दलका समानुपातिक उम्मेदवार तथा गठबन्धन दलका नेताहरुको उपस्थितिमा चुनावी सभा भएको गठबन्धनको निर्वाचन परिचालन समितिले जनाएको छ । सभामा सहभागी उम्मेदवार तथा अन्य नेताहरुले गठबन्धनलाई विजयी गराउन अनुरोध गरेका थिए ।
गठबन्धनका तर्फबाट रुकुम पश्चिम प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुमेली जनताकै लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । रुकुमका जनतालाई कसरी हुन्छ सुखि र समृद्ध बनाउने भनेर आफुले सपना देखेको र उक्त सपनालाई साकार पार्न गठबन्धनलाई विजयी गराउन उहाँले सबै मतदातालाई अनुरोध गर्नुभयो ।
त्यस्तै गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा कांग्रेस नेता गोपालजि जंग शाहले देशभरमै सबैभन्दा ठूलो मतान्तरले जिल्लाका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबैलाई अनुरोध गर्नुभयो । सोही अनुसार तयारीमा जुट्न उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।
प्रदेश सभा क का गठबन्धनका उम्मेदवार महेन्द्र केसीले उत्पिडित वर्ग र भूगोलका लागि गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । गठबन्धनले जित्नु भनेको सिंगो रुकुमले जित्नु रहेको र सिंगो रुकुमले जित्नु भनेको यहाँको विकास र समृद्धि रहेको उहाँको भनाई छ ।
चुनावी सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, नेपाली कांग्रेसका जिल्ला सचिव तारकबहादुर शाही, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।