गठबन्धनमा आवद्ध रुकुम पश्चिमको आठबीसकोट नगरपालिका भित्रका राजनीतिक दलहरुले पनि गठबन्धनलाई विजयी बनाउन संयुक्त अपिल गरेका छन् । आज संयुक्त अपिल जारी गर्दै गठबन्धनका मुख्य तीन दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका हुन् ।
प्रतिनिधि सभा तर्फ अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश सभा क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मालाई गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गरिएको छ । त्यस्तै समानुपातिक तर्फ भने आ–आफ्ना दलका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरिएको छ । यसवाहेक गठबन्धन दलको संयुक्त बैठकले तीन वटा निर्णय गरेको छ ।
आठबीसकोटमा गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका युवाहरु विच विगत केही वर्ष देखि अनावश्यक झै झगडा हुँदै आएको र जसका कारण शान्ती सुरक्षा समेतमा चुनौती बढेको भन्दै विगतका घटनालाई सहजिकरण गर्न एक अर्काले सहयोग गर्ने निर्णय भएको छ । स्थानीय स्तरमा सहजिकरण गर्न नसकिने घटनाहरुलाई साझा रुपमा अगाडी बढाएर समाधान गर्ने निर्णय भएको छ ।
त्यस्तै स्थानीय सरकार संचालनको सवालमा गठबन्धनको भाव अनुसार स्थानीय सरकार बाहिर रहेका दलहरुको सहभागीतामा सरकार संचालन संयन्त्र बनाई सरकारलाई निरन्तर सल्लाह सुझाव र सहमतिमा निर्णय गर्न सुझाव दिने निर्णय पनि भएको छ । यसका साथै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नगरस्तरीय संयुक्त चुनाव परिचालन समिति बनाएर अघि बढ्ने निर्णय समेत भएको छ ।
नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष मानबहादुर चदारा, नेपाली कांग्रेसका नगर सभापति अमृत बोहरा र नेकपा एकीकृत समाजवादीका विनोद पुनको हस्ताक्षरमा गठबन्धनेको अपिल तथा निर्णय सार्वजनिक गरिएको छ ।