आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिममा ११ सय १२ कर्मचारी खटिदै छन् । निर्वाचन सम्पन्न गर्नको लागि जिल्लाका १ सय ३९ मतदान केन्द्रमा ११ सय १२ कर्मचारी खटिन लागेका हुन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी समान १३९÷१३९ जना परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक मतदान केन्द्रमा ५ जना सहायक कर्मचारी खटिदा १ सय ३९ मतदान केन्द्रमा ६ सय ९५ जना कर्मचारी खटिनेछन् । त्यस्तै ५ यस ५८ जना स्वयंमसेवक परिचालन हुनेछन् । स्वयंसेवक सहित जिल्लाभरमा साढे १६ सय कर्मचारी खटिन लागेको उहाँले बताउनुभयो । निर्वाचनमा खटिने कर्मचारी छनोट भइसकेका छन् भने स्वयंमसेवक मतदान अधिकृतले स्थानीय स्तरमै छनोट गर्ने छन् ।
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि २५, २६, २७ गते तालिमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बताउनुभयो । आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा २५ गते, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा २६ गते तथा मुसीेकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि २७ गते मुसीकोट खलंगामा तालिमको आयोजना गरिएको छ ।
त्यस्तै जिल्लामा निर्वाचनका लागि आवस्यक पर्ने सामग्री, प्रत्यक्ष र समानुपातिक तर्फका मतपत्र तिहार अघि नै जिल्ला आइपुगेको निर्वाचन अधिकारी मल्लले बताउनुभयो । रुकुम पश्चिममा १ लाख ४ हजार २ सय ८० जना मतदाता रहेका छन् । प्रदेश सभा क्षेत्र नम्बर (क) मा ५२ हजार ८ र निर्वाचन क्षेत्र नम्बर (ख) मा ५२ हजार २ सय ७२ मतदाता रहेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सकिए लगतै मतदान स्थलमा निर्वाचन सामग्री सहित कर्मचारी पनि खटाइने निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।