मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको माहोल तातिएको छ । दल तथा तिनका उम्मेदवार मतदातालाई आकर्षित गर्न कसरत गरिरहेका छन् । रुकुम पश्चिममा पनि निर्वाचनको सरगर्मी बढेको छ । एउटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र र २ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन र एमालेका विचमा मुख्य प्रतिस्पर्धा छ । जिल्लाका मुख्य प्रतिस्पर्धी दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनमा सामेल भएपछि यो पटक जिल्लामा गठबन्धन र जिल्लाको तेस्रो शक्ति एमालेका विचमा प्रतिस्पर्धा हुन लागेको हो ।
आगामी निर्वाचनलाई लिएर गठबन्धन ढुक्क देखिएको छ । गठबन्धनका प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवारहरु भारी मतान्तरले विजयी हुनेमा ढुक्क देखिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षले पाएको मत अनुसार गठबन्धनको ६३ हजार बढी छ भने एमालेको मत जम्मा ६ हजार मात्र छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फ उम्मेदवारी दिएको राप्रपाको मत १ सयको हाराहारीमा मात्र छ ।
दलिय हैसियत
२०६४ पछि जिल्लामा नेकपा माओवादी केन्द्रले नेतृत्व गर्दै आएको छ । अहिलेसम्म जिल्लाको पहिलो दल माओवादी हो । गत बैशाख ३० गते भएको स्थानीय तहमा वडाध्यक्षले पाएको मत अनुसार जिल्ला भरमा माओवादीको मत ३६ हजार २ सय ९० छ । जिल्लामा कांग्रेस दोस्रो दल हो । कांग्रेसका वडाध्यक्षले २६ हजार ६ सय १९ मत पाएका छन् । एमालेले ६ हजार ९१ मत पाएको छ । जिल्लामा राप्रपाको मत १ सय ८ मत हुँदा नेकपा एकीकृत समाजवादीको मत १ सय ३० मात्र रहेको छ । जिल्लामा गठबन्धनको कुल मत ६३ हजार ३९ हुन आउँछ । मुख्य प्रतिस्पर्धीको रुपमा रहेको एमालेको निकै कम ६ हजार ९१ मत मात्र रहेको छ । अर्को प्रतिस्पर्धी राप्रपाको १ सय ८ मत मात्र छ ।
मंसिर ४ मा औपचारिकता पुरा हुन मात्र बाँकी छः गठबन्धन
जिल्लाका दुई ठूला दल मिलेपछि गठबन्धनलाई निर्वाचन औपचारिकता जस्तो पनि देखिएको छ । गठबन्धन दलहरु अहिले चुनावी सभामा व्यस्त छन् । जिल्लाका विभिन्न ठाउँमा चुनावी सभा गरिरहेको गठबन्धन आगमी निर्वाचनमा ढुक्क देखिन्छ । गठबन्धन दलका नेताहरुले व्यक्ति गर्ने अभिव्यक्तिले गठबन्धनका लागि मंसिर ४ औपचारिकता मात्र हो ।
गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता गोपालजि जंग शाह मंसिर ४ मा औपचारिकता मात्र पुरा हुन बाँकी रहेको बताउनुहुन्छ । ‘गठबन्धनका उम्मेदवारहरु विजयी भइसकेका छन्, कानुनी रुपमा मंसिर ४ गते औपचारिकता मात्र पुरा हुन बाँकी छ, उहाँ भन्नुहुन्छ ।’ गठबन्धनले मतान्तरलाई मात्र ध्यान दिइरहेको उहाँको भनाई छ । गठबन्धनका उम्मेदवारलाई मत संख्याका आधारमा देशभरमै सबैभन्दा ठूलो अन्तरले विजयी गराउने गरी लागिपरहेको उहाँ बताउनुहुन्छ ।
नसोचेको नतिजा आउँछः एमाले
जनमतका आधारमा गठबन्धन भन्दा धेरै पछाडी रहेको नेकपा एमाले भने मंसिर ४ मा जिल्लामा नसोचेकै परिणाम आउने दाबी गर्छ । उसका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटा रुकुमका जनताले विकल्प खोजिरहेको र आफुहरु विकल्प बन्ने दाबी गर्नुहुन्छ । रुकुममा भइरहेको अप्रजातान्त्रिक अभ्यासबाट जिल्लावासी आजित भइसकेकोले अवको विकल्प एमाले भएको उहाँको दाबी छ । ‘अहिले कसको कति मत छ भनेर भन्नु बेकार छ, मंसिर ४ सम्म पर्खिनुहोस एमालेले कसैले नसोचेको मत ल्याएर विजयी हुन्छ, उहाँले भन्नुभयो ।’
एमालेले खास राजनीतिक संस्कारको विकासका लागि चुनाव लडिरहेको उहाँले बताउनुभयो । अहिले रुकुममा राजनीतिक संस्कारको विकास हुन नसकेको उहाँको भनाई छ । एमालेले अहिले चुनाव लक्षित घरदैलो गरिरहेको छ । कतैपनि उसले चुनावी सभा आयोजना गरेको छैन् । ‘गठबन्धनले चुनावी सभा गर्दा तपाइहरु घरदैलोमा मात्र सिमित हुनुभयो नि भन्ने प्रश्नमा अध्यक्ष देवकोटाले जनता खेरेर चिल्ला भाषण गर्नुको कुनै तुक नभएको बताउनुभयो ।’ साथै उहाँले गठबन्धनले सरकारी सम्पतीको दुरुपयोग गरेर चुनावी प्रचार गरिरहेको आरोप पनि लगाउनुभयो ।
असन्तुष्ट मत तान्ने दाउ
गठबन्धन अनुसार जिल्लामा सबै माओवादीका उम्मेदवार छन् । यसले कांग्रेस रुकुम पश्चिमलाई असन्तुष्ट बनाएको छ । तर पछिल्लो समयमा भने कांग्रेसका नेताहरु गठबन्धनका पक्षमा खुलेर लागेका छन् । जसका कारण कार्यकर्ता तहमा रहेको असन्तुष्टि केही मत्थर भएको छ । एमालेले कांग्रेसका असन्तुष्ट मत तान्ने कसरत गरिरहेको देखिन्छ । जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवकोटाले सबै पार्टीभित्र असन्तुष्टि रहेको र उक्त मत एमालेलाई आउँछ भन्नुले एमालेले कांग्रेसकै असन्तुष्टको मत तान्ने कसरत गरिरहेको बुझिन्छ । जिल्लामा सबै क्षेत्रमा माओवादीकै उम्मेदवार भएकोले माओवादी भित्र असन्तुष्टि देखिन्न ।