Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रदेश सभा ‘ख’ मा कसको पल्ला भारी ?

माओवादीबाट स्वतन्त्र उम्मेदवारी परेपछि रुकुम पूर्वको प्रदेश सभा ‘ख’ मा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । गठबन्धन अनुसार यो क्षेत्र कांग्रेसलाई भाग परेको छ । गठबन्धनबाट कांग्रेसका धनबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ । तर सिट बाँडफाँडमा अन्याय भएको भन्दै नेकपा माओवादी केन्द्रबाट २ जनाको उम्मेदवारी परेको छ । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल र माओवादीका स्थानीय नेता नरहरी खड्काले गठबन्धन विरुद्ध उम्मेदवारी दिएका छन् । जसले गर्दा यो निर्वाचन क्षेत्रको लडाई रोचक बनेको हो । गठबन्धन चुनाव जित्नेमा ढुक्क देखिन्छ भने स्वतन्त्रले पनि माओवादीको मतले विजयी हुने आश राखेका छन् ।

यो निर्वाचन क्षेत्रको तेस्रो शक्ति नेकपा एमाले गठबन्धन भित्रको असन्तुष्टिबाट फाइदा उठाउने दाउमा देखिन्छ । यस निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो दल माओवादी, दोस्रो कांग्रेस र तेस्रो शक्ति एमाले हो । अन्य दलको मत सामान्य छ । दुई ठूला शक्ति एक ठाउँमा उभिएकोले गठबन्धन चुनावलाई लिएर ढुक्क देखिन्छ भने माओवादीको धेरै मत र कांग्रेस, एमाले भित्रको असन्तुष्ट मत पाउँदा आफु विजयी हुने स्वतन्त्रको दाबी छ । टिकट वितरणका सन्दर्भमा कांग्रेसभित्र व्यापक असन्तुष्टि रहेको र यसको फाइदा आफुलाई हुने स्वतन्त्र उम्मेदवार केशव रावल दाबी गर्नुहुन्छ । पार्टीमा लामो समय योगदान गरेका उम्मेदवारलाई पन्छाएर टिकट वितरण गरिएकोले कांग्रेसमा असन्तुष्टि रहेको रावलको भनाई छ ।

साथै उहाँले आफुले गठबन्धन विरुद्ध नभई कांग्रेसले उठाएका उम्मेदवार विरुद्ध र माओवादीको जनमत राम्रो हुँदाहुँदै गठबन्धनका नाममा कांग्रेसलाई टिकट दिएको कदम विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउँदै आउनुभएको छ । रावलले चुनावी प्रचारलाई आक्रामक बनाउनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनले पनि उत्साहित रहदै प्रचारलाई तिव्रता दिएको छ । माओवादी र कांग्रेस संगै एउटै मञ्चमा प्रचार गरिरहेका छन् । यसमा गठबन्धनका अन्य दल समेत सहभागी छन् । 

यो क्षेत्रमा कुन दलको हैसियत के ?  
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत अनुसार यो क्षेत्रमा माओवादी पहिलो पार्टी हो । उसको कुल मत ५ हजार १ सय २९ रहेको छ । दोस्रो कांग्रेसको ३ हजार ५ सय ३ मत छ । एमालेको २ हजार ३ सय ५८ मत छ । जसपाले २९, राप्रपाले ९, मंगोल नेशनल अर्गनाइजेशनले ५ र स्वतन्त्रले २१ मत पाएका थिए । यसका आधारमा गठबन्धनको मत यो क्षेत्रमा ८ हजार ६ सय ३२ छ । गठबन्धनको मत दायाँबायाँ नभएको खण्डमा गठबन्धनले जित्ने निश्चित नै छ । तर माओवादीको सबै मत कांग्रेसलाई जान्छ कि जादैन भनेर हेर्न भने मंसिर ४ कुर्नुको विकल्प छैन् । 

स्वतन्त्रले केही फरक पार्दैनः गठबन्धनका उम्मेदवार केसी
गठबन्धनका तर्फबाट उम्मेदवार धनबहादुर केसीले केही व्यक्तिले महत्वकांक्षी भएर पार्टी र गठबन्धनको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै यसले गठबन्धनलाई कुनै असर नगर्ने बताउनुभयो । केही व्यक्तिले केही भोट काट्दैमा आफ्नो जित नरोकिने उहाँले बताउनुभयो । आफ्नो जित सुनिश्चित भइसकेको भन्दै उहाँले जिल्लाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । उहाँले आफुले विजयी भएमा राज्यबाट कुनै सेवा सुविधा नलिएर जिल्लावासीको सेवा गर्ने प्रतिबद्धता गर्नुभएको छ । 

माओवादीको मात्र होइन सबै पार्टीको मतले विजयी हुन्छुः स्वतन्त्र उम्मेदवार रावल
स्वतन्त्र उम्मेदवार केशव रावलले आफुले माओवादीको मात्र नभई सबै पार्टीको मत पाउने दाबी गर्नुहुन्छ । साथै उहाँले सबैभन्दा अब्बल उम्मेदवार पनि आफु नै रहेको दाबी गर्नुभएको छ । ‘म अहिलेका सबै उम्मेदवार भन्दा अब्बल छु, राजनीतिक जीवनको सुरुवात देखि नै म जिल्लावासीको सेवामा छु, उहाँ भन्नुहुन्छ–यो आम मतदाताले राम्ररी बुझेका छन्, मेरो जितको आधार यही हो ।’ उहाँले आफुले चुनाव हारेपनि जितेपनि जिल्लावासीकै सेवामा तल्लिन हुने बताउनुभएको छ । रावलले आफुले चुनाव जितेमा आफ्नो निर्वाचन क्षेत्रका सबै १२ वटा वडामा एम्बुलेन्सको व्यवस्था गर्ने, रोजगारी सृजना गर्न भूमिका खेल्ने र वेरोजगारलाई भत्ता उपलब्ध गराउने जस्ता प्रतिबद्धता गरिरहनुभएको छ । 

महिलाको मतले चुनाव जित्छुः एमाले उम्मेदवार बुढाथोकी 
नेकपा एमाले गठबन्धन भित्रको असन्तुष्टिको फाइदा उठाउने दाउमा छ । यसका साथै महिला उम्मेदवार भएकोले सबै पार्टीका महिलाको मतको आश पनि गरेको छ । एमाले उम्मेदवार भावना बुढाथोकीले अरु कुनै महिला उम्मेदवार नभएकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । आफ्ना पार्टीका सबै मत आफुलाई आउने र अन्य पार्टीका महिलाको मत समेत आफुलाई आउने उहाँको विश्वास छ । यसरी आफ्नो जित सुनिश्चित रहेको उहाँको भनाई छ । अहिले घरदैलो मार्फत जनताको विचमा जाँदा पनि ठूलो साथ र सहयोग पाइरहेको उहाँले बताउनुभयो । 
  


 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update