रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिकाको लोगो अर्थात प्रतिक चिन्ह निर्माण गर्ने भएको छ । १ सय ५ औं गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिकाको सामाजिक, आर्थिक, राजनितिक, साँस्कृतिक तथा भौगोलिक लगायत विशेषता झल्किने लोगो निर्माण गर्न लागिएको हो । लोगो निर्माणका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । आगामि चैत्र १६ गतेसम्म तोकिए अनुसार लोगो निर्माण गरी गाउँपालिकाको कार्यालयमा बुझाउन भनिएको छ । कार्यालयमा आएका लोगो मध्ये उत्कृष्ट लोगो छनौट हुने र उत्कृष्ट लोगो निर्माणकर्तालाई २५ हजारले पुरस्कृत गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत भुपालसिंह बिष्टले जानकारी दिनुभयो ।
लोगोमा नेपालको झण्डा तथा हिमाल अनिवार्य राख्नुपर्ने छ भने लोगोले गाउँपालिकाको पहिचान भाव विशेषता तथा विशिष्टता झल्किनु पर्ने उहाँको भनाई छ । लोगो निर्माण भएपछि हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने उहाँले बताउनुभयो । लोगो बनेपछि गाउँ सभा सदस्यहरुले पनि गाउँपालिकाकै लोगो लाउनेछन् । स्थानीय तहहरुले आफ्नै लोगो निर्माण गर्न पाउँने व्यवस्था छ । सोही अनुसार सानीभेरी गाउँपालिकाले आफ्नै लोगो निर्माण गर्न लागेको हो । जिल्लाका ६ स्थानीय तहमध्यमा अहिलेसम्म कसैले पनि आफ्नै लोगो निर्माण गरिसकेका छैनन् ।