रुकुम पुर्व प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार धनबहादुर केसीले नाथिगाड मेला रोक्ने कुनै निर्णय नभएको बताउनुभएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सुरक्षालाइ मध्यनजर गरि मेला नलगाउने निर्णय भएको थियो ।
सो निर्णय स्थानीय तह, प्रशासन र जिल्लास्थित सुरक्षा निकायका प्रमुखले गरेका हुन । हरेक वर्ष कार्तिक कृष्ण पञ्चमी अर्थात यस वर्ष कार्तिक २७ देखि सुरु हुनुपर्ने नाथिगाड मेला उक्त निर्णयका कारण रोकिएको छ ।
त्यसपछि गठबन्धनले मेला रोक्न लगाएको आरोप लाग्दै आएको थियो । उक्त आरोपलाई खण्डन गर्दै उम्मेदवार केसीले सामाजिक संजाल फेसबुकबाट गठबन्धनका कारण मेला नरोकिएको बताउनुभएको हो । मेलाप्रतिका गलत र कपोलकल्पित प्रचारप्रति आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ ।
गठबन्धनले मेला रोक्न खोजेको भनि गरेको प्रचार आसन्न निर्वाचनलाई प्रभावित पार्न खोज्नु बाहेक अरु केही नभएको उहाँको भनाई छ ।
‘यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन दलको साझा उम्मेदवारको हैसियतले परम्परा र संस्कृतिको संरक्षण गर्नु तपाईं हामी सबैको जिम्मेवारी हो भन्ने ठानेको छु । मेला रोकिएको वा नरोकिएको यस विषयमा मलाई कुनै पनि जानकारी छैन उहाँले फेसबुकमा लेख्नुभएको छ ।’
त्यस्तै उहाँले कहीँ कतैबाट मेला रोक्न खोजिएको भएपनि परम्परा र संस्कृतिको जगेर्नाका लागि परम्परादेखि लाग्दै आएको, आफ्नो छुट्टै इतिहास भएको नाथिगाड मेला तत्कालै सञ्चालन गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय जनसमुदाय सबै समक्ष अनुरोध समेत गर्नुभएको छ ।