Kakhara सबैको खबर सम्पूर्ण खबर
वाम–लोकतान्त्रिक गठबन्धनः पोखरापाटाको चुनावी सभा सम्पन्न 

मंगलबार आयोजित रुकुम पूर्वको संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभा कार्यक्रम भूमे गाउँपालिका–८ पोखरापाटामा सम्पन्न भएको छ । भूमे–८ वडाबासीलाई लक्षित गरी पोखरापाटामा गठबन्धनको चुनावी सभा कार्यक्रम राखिएको थियो ।


उक्त चुनावी सभा कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्वमन्त्रीद्वय नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कमला रोका र पोलिटब्यूरो सदस्य दलजित श्रीपालीको विषेश आतिथ्यता रहेको थियो । त्यस्तै प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर घर्ती र प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का साझा उम्मेदवार धनबहादुर केसीले आफ्ना प्रतिबद्धता मन्तव्य राख्नु भएको छ । चुनावी सभामा आफ्ना प्रतिबद्धता मन्तव्य राख्दै प्रतिनिधिसभाका साझा उम्मेदवार पूर्णबहादुर घर्तीले गबन्धनमा सम्बद्ध दलहरु भिन्न स्कुलिङ, विचार र मनोविज्ञान भएकाहरु एक ठाउँमा हुँदा सोभावैले भिन्न शैली र प्रवृत्तिहरु देखिएको बताउनुभएको छ । उहाँले यस कुरा प्रति फगट टिका टिप्पणी गर्नु राम्रो नभएको यसमा बरु गठबन्धन राष्ट्रिय आवश्यकता हो भनी बुझ्दा राम्रो हुने बताउनुभयो । गठबन्धनका दलहरु आज साझा मोर्चाको रुपमा अघि बढेको र अबको ५ वर्षसम्म यही गठबन्धनले सरकार सञ्चालन गर्ने पनि दाबी गर्नुभएको छ । 

अहिलेको व्यवस्थालाई हेर्दा निर्वाचित भए पश्चात मुलुकको भाग्य भविष्य कोर्नका लागि नीति निर्माणका काममा विधेयकी कामहरु गर्ने र दोस्रोमा जिल्लामा विकास निर्माणका कामहरुमा पहलकदमी लिने बताउनुभएको हो । उम्मेदवार घर्तीले अव जिल्लामा सञ्चालित विकासका कामहरुलाई पूर्णता दिने र कुचिबाङबासीलाई गिजोलिएको सहिद मार्गको सडकको विषयमा २ वटा सडकबाट सर्भे गरेका प्राविधिक कुराहरुको अफबाहरुप्रति आफूलाई जानकारीमा नआएको बताउनुभएको हो । यस सडकलाई पूर्णता दिई स्तरउन्नति गर्नका लागि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो । 

यसैगरी प्रदेश निर्वाचन क्षेत्र नम्वर २ का साझा उम्मेदवार धनबहादुर केसीले स्वतन्त्र उम्मेदवारलाई बटुवाको संज्ञा दिदै कोर्जाबाट धेरै सूचनाहरु आएको गठबन्धनलाई निरासा बनाउने खालका अभिव्यक्तिहरु आएको हँुदा आज आफै आएर जनमानसमा उपस्थिति देख्दा त्यसो नभएको बताउनुभएको छ । केसीका अनुसार जनतामा झन गठबन्धन प्रति उत्साह बढ्दै गएको बताउनुभएको छ । भूमे–८ मा परेका विकासका आवश्यकताहरु पहल भइरहेको र काम सुरु भइरहेको भए पनि यसलाई पूर्णता दिने तर्फ आफ्नो ध्यान गएको समेत उम्मेदवार केसीले बताउनुभयो । त्यस्तै कुचिबाङ देखि कोर्जा बासीमा देखिएका बिजुली, कृषि र सडक लगायतका विकास निर्माणका सबैसँग सल्लाह सुझाव लिदै काम गर्ने र विजय पश्चात आफूलाई जोताउने अधिकार जनताको रहेको उम्मेदवार केसीले बताउनुभएको छ  ।


यस्तै चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवम् माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले गठबन्धनको जित सुनिश्चित भइसकेको र बरु मत बदर नगराउनका लागि स्थानीय स्तरमा नेता कार्यकर्ताहरुलाई मतदाता शिक्षा चलाउन निर्देशन दिनुभएको छ । वडाका बस्ती बस्तीहरुमा सुहाउदो मास्टर पलान बनाएर अघि बढ्नका लागि अनुरोध गर्नुभएको छ भने आफूहरु पनि यस्तै मसिना कामहरुमा केन्द्रित रही घोषणापत्र निर्माण गरेको बताउनुभएको छ । स्थानीय स्तरमा रहेका अर्गानिक प्रकारका चिजवस्तुहरुलाई जोगाएर अझै आधुनिकीकरण गर्दै लैजानुपर्ने र यसै कुरालाई विकासे संरचना बनाएर लैजाने पनि बताउनुभयो । 


पोखरापाटाको चुनावी सभा कार्यक्रममा गठबन्धनमा आबद्ध दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका नेताहरु तथा समानुपातिक उम्मेदवारहरुको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update