Kakhara सबैको खबर सम्पूर्ण खबर
बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको नवौं चुनावी सभा मुसिकोटमा सम्पन्न 

नेकपा माओवादी केन्द, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको नवौं चुनावी सभा मुसिकोट खलंगामा सम्पन्न भएको छ । गठबन्धनले आज मुसिकोट खलंगामा संयुक्त चुनावी सभा संचालन गरेको हो । 

सभालाई मंसिर ४ को निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्येक्ष र समानुपातिक उम्मेदवार तथा गठबन्धनमा आवद्ध दलका नेताहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्नेहरुले गठबन्धनका साझा उम्मेदवारलाई ठूलो मतान्तरले विजयी गराउन अपिल गरेका थिए । 

सभालाई सम्बोधन गर्दै अर्थमन्त्री, माओवादी नेता तथा गठबन्धनबाट रुकुम पश्चिम प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुम सधै देशको केन्द्रमा रहेको बताउनुभएको छ । हिजोका विभिन्न कालखण्डमा रुकुमले देशको नेतृत्व गरेको र अवका दिनमा पनि रुकुमले विकासको मोडल दिने उहाँले बताउनुभयो । 

रुकुम सधै राज्यको केन्द्रमै रहेको र जिल्लाको विकास पनि सोही अनुरुप भइरहेको उहाँको भनाई छ । गठबन्धनलाई पूर्ण रुपमा सफल बनाई फेरि पनि जिल्लालाई नमूना बनाउन जिल्लास्थित प्रमुख दलहरु एक ठाउँमा उभिएको उहाँले प्रस्ट्याउनुभयो । 

कांग्रेस नेता, पूर्व राज्यमन्त्री तथा गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक गोपालजी जंग शाहले आफु गठबन्धनको पक्षमा लाग्दा धेरैले नबुझेर गाली गरेको बताउनुभयो । तर भोली गठबन्धनको औचित्य पुष्टि हुने र त्यसपछि सबैले आफुलाई सम्मान गर्ने समेत उहाँले बताउनुभयो । 

अहिलेको अवस्था कुनै व्यक्ति वा पार्टी विशेष नभएको र आफुहरुले चाहेर मात्रै केही हुन नसक्ने अवस्था भएकोले सबै नेता तथा कार्यकर्ताहरु गठबन्धनमा दत्तचित्तका साथ लाग्नुको विकल्प नभएको उहाँको भनाई छ । अहिलेको गठबन्धन जिल्लाको विकासका लागि कोशेढुंगा सावित हुने र इतिहासले एकपटक जिल्लाको समृद्धिका लागि अवसर दिएकोले कसैले दुःख मनाउ गर्नु नपर्ने समेत उहाँले बताउनुभयो । 

त्यस्तै गठबन्धनका तर्फबाट प्रदेश सभा ख का उम्मेदवार राजकुमार शर्माले जिल्ला, कर्णाली र समग्र देशकै विकास र समृद्धिका लागि गठबन्धन भएको र सोही अनुसार फाइदा उठाउन सक्नुपर्ने बताउनुभयो । त्यसको प्रयास र नेतृत्व रुकुम पश्चिमबाट हुने उहाँले बताउनुभयो । 

प्रदेश सभा क का उम्मेदवार महेन्द्र केसीले आफु एक्लो व्यक्ति नभई गठबन्धनको साझा उम्मेदवार रहेको बताउनुभयो । भोली आफु विजयी भएमा कुनै पार्टी विशेषको मात्र नभई सिंगो जिल्ला र निर्वाचन क्षेत्रको प्रतिनिधिका रुपमा साझा काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवी ओलीले पार्टी पार्टीका विचमा रहेको तिक्तता अव हट्न जरुरी रहेको बताउनुभयो । तिक्तताले कसैलाई फाइदा नगर्ने भएकोले एक आपसका तिक्ततालाई कम गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । 

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कर्णाली प्रदेश महासचिव कृष्णबहादुर रोकायले गठबन्धनले प्रदेशका सबै २४ वटै सिटमा विजय हाँसिल गर्ने दाबी गर्नुभयो । अहिले अल्पमतमा रहेको कांग्रेसले प्रदेशको नेतृत्व गरेको जस्तो भोली त्यस्तो नहुने उहाँले बताउनुभयो । 

साथै उहाँले जिल्लामा गठबन्धन चुनावसम्म मात्र नभई त्यो भन्दा पछाडिपनि व्यवहारिक रुपमा गठबन्धन हुनुपर्ने बताउनुभयो । चुनावसम्मका लागि मात्र गठबन्धन गर्ने र त्यसपछि फेरि सबै आ–आफ्नो बाटोमा हिड्ने हो भने यो गठबन्धनको कुनै अर्थ नहुने उहाँको भनाई छ । 

त्यस्तै उहाँले अव स्थानीय तह पनि गठबन्धनको मर्म अनुसार संचालन हुनुपर्ने बताउनुभयो । अव माओवादी, कांग्रेस, समाजवादीले जितेको स्थानीय तह होइन गठबन्धनले जितेका स्थानीय तह भन्नुपर्ने उहाँले बताउनुभयो । गठबन्धनमा आवद्ध जुन दलले जितेको भएपनि अव उक्त स्थानीय तह गठबन्धनले जितेको मान्नुपर्ने उहाँको भनाई छ । 

सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बसन्तकुमार शर्मा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार प्रेमकुमार सुनार, नेकपा एकीकृत समाजवादीका प्रदेश समानुपातिक सदस्यका उम्मेदवार माधवप्रसाद गौतम लगायतले पनि सम्बोधन गर्नुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update