Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचनको तयारी पूरा 
बाँफिकाेट गाउँपालिकाकाे नेपाल राष्ट्रिय मावि ढारबाङमा मतदान केन्द्र निर्माण गरिदै ।

भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी रुकुम पश्चिममा पुरा भएको छ । जिल्ला भरमा निर्वाचनको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका सबै स्थायी र अस्थायी मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र मतपत्र, मतपेटिका लगायतका सबै निर्वाचन सामग्री पुगिसकेका छन् । 

त्यस्तै निर्वाचनमा खटिने स्वमंसेवक छनौट, सर्वदलिय बैठक बसाल्ने तथा मतदान केन्द्र निर्माणको काम सकिएका छन् । भोली बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म शान्तिपूर्ण वातावरणमा मतदान संचालन गर्ने गरी सबै व्यवस्था पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।  

जिल्लामा ७६ मतदान स्थल तथा १ सय ३९ वटा नियमित मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहेका छन् । एउटा अस्थायी मतदान केन्द्र जिल्ला कारागार र अर्को अस्थायी मतदान केन्द्र खलंगाको बराहटाकुरामा रहेको छ । कारागारको केन्द्रमा कैदी बन्दीले र बराहटाकुराको केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरुले समानुपातिक तर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update