रुकुम पश्चिममा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । जिल्लाभरको विवरण संकलनको काम भइरहेकोले ठ्याक्कै कति मत खस्यो भनेर भन्न सकिएपनि करिब ६० प्रतिशतको हाराहारीमा मत खसेको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा कुल मतदाता संख्या १ लाख ४ हजार २ सय ८० रहेको छ । ६० प्रतिशतको अनुमान अनुसार जिल्ला भरमा ६२ हजार जति मत खसेको हुनसक्ने उहाँको भनाई छ । जिल्लामा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको तुलनामा कम मत खसेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा ७१ प्रतिशत मत खसेको थियो ।
यसैविच आजैबाट मतपत्र ढुवानीको काम पनि सुरु हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । आवश्यक प्रक्रिया पुरा गरेर सबै मतदान केन्द्रबाट आजै मतपत्र हिडाल्ने तयारी भएको उहाँको भनाई छ । जिल्ला भरबाट भोलीसम्म सबै मतपत्र ल्याइपुर्याउने तयारी गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका १, २, ३, ४, ५ र ६ नम्बर वडाबाट मतपत्र ढुवानी गर्न समय लाग्ने छ ।
जिल्लाभरको मतपत्र खलंगा ल्याएपछि मात्र मत गणना सुरु हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।