Kakhara सबैको खबर सम्पूर्ण खबर
७ वडामा पुनः मतदान नभए मतगणनामा सहभागि नहुने एमाले रुकुम पश्चिमको अडान 
पत्रकार सम्मेलनमा बाेल्दै जिल्ला अध्यक्ष नन्दराम देवकाेटा ।

नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका ७ वटा वडामा पुनः मतदानको माग गरेको छ । आइतबार भएको मतदानमा धाँदली भएको भन्दै एमालेले पुनः मतदानको माग गरेको हो । एमालेले बाँफिकोट गाउँपालिकाको वडा नम्बर ६, वडा नम्बर ७, आठबीसकोट नगरपालिकाको वडा नम्बर २ र ३ तथा सानीभेरी गाउँपालिकाको वडा नम्बर २ र ३ मा पुनः मतदानको माग गरेको छ । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर १३ मा पुनः मतदानको माग गरेको छ । 

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटाले एमालेका मतदान प्रतिनिधिहरुलाई धम्काई, परिबन्धमा पारी फर्जी मतदान गरेकोले पुनः मतदानको माग गरिएको बताए । अर्थमन्त्री तथा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माको पत्यक्ष निर्देशनमा निर्वाचन कानुन विपरित एकालेका प्रतिनिधिलाई हटाएर माओवादी कार्यकर्ताले फर्जी मत हालेको उनले आरोप लगाए । 

मतदानमा खटिएका कर्मचारी समेतको मिलेमतो रहेको एमालेले आरोप लगाएको छ । एमालेले जित्ने अवस्था देखेपछि माओवादीले मतदान स्थल कब्जा गरेर फर्जी मत हालेको अध्यक्ष देवकोटाको आरोप छ । एमालेले यस घटनाको निष्पक्ष छानविन गर्दै पुनः मतदानको माग गरेको हो । यही अवस्थामा मतगणनामा सहभागि नहुने एमालेले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिइएको र आफ्ना मागमा कुनै सुनुवाई नभए यथास्थितिमा मत गणनालाई बहिष्कार गर्ने एमालेको भनाई छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update