रुकुम पश्चिममा अहिले बेलुका मात्र जिल्ला भरको मतपेटिका संकलन कार्य सम्पन्न भएको छ । आठबीसकोट नगरपालिका वडा नम्बर ४, ५ र ६ नम्बर वडाको मतपेटिका सदरमुकाम खलंगा ल्याइपुर्याएपछि जिल्लाभरको मतपत्र संकलन कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।
आइतबार बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म जिल्लाका १ सय ३९ वटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुन्न मतदान भएको थियो । मतदान सकिए लगत्तै मतपेटिका ढुवानीको काम सुरु भएको थियो । आज बिहानसम्ममा आठबीसकोटका ६ वडा बाहेक अन्य सबै वडाको मतपेटिका खलंगा ल्याइपुर्याइसकिएको थियो । तर आठबीसकोटका ६ वडाका १० मतदान केन्द्रबाट भने मतपेटिका ल्याइपुर्याउन आज दिनभर लाग्यो ।
अव आवश्यक पक्रिया पुरा गरेर मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलिय बैठक गरेर मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले जानकारी दिनुभयो । तर आजै मतगणना सुरु हुनेमा भने आशंका छ । नेकपा एमालेले धाँदली भएकोले ७ वटा वडामा पुनः मतदानको माग गर्दै पुनः मतदान नभए मतगणना बहिष्कार गर्ने घोषणा गरेको छ ।