रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक डेरीले किसानको घरघरमा पुगेर दुध संकलन गर्दै आएको छ । जहारीखोला नमुना कृषि सहकारी संस्थाले वडा न. २ मा सञ्चालनमा ल्याएको दुग्ध डेरीले किसानको घरघरमा पुगेर दुध संकलन गर्ने गरेको छ । किसानले उत्पादन गरेको दुध सजिलै बजारसम्म पुर्याउने उदेश्यले किसानको घरमै पुगेर संकलन गर्न सुरु गरिएको हो । प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध संकलनको लागि सहकारीलाई गाडी उपलब्ध गराएको छ ।
उक्त गाडिले किसानको घरमै पुगेर दुध संकलन गरिरहेको छ । सहकारी संस्थाले वडा नं. १२ का संगम शर्मालाई बर्षमा निश्चित भाडा बुझाउने गरि दुग्ध डेरी र गाडी भाडामा दिएपछि अहिले शर्माले डेरी सञ्चालन गरिरहनुभएको छ । किसानको घरआगनबाटै प्रतिलिटर ४० रुपैयाँका दरले संकलन गरि डेरी मार्फत उपभोक्तासम्म ताजा दूध पुर्याउने गरिएको शर्माले बताउनुभयो । ‘हामीले एक दिनमा एक सय पचास लिटर दूध, २० लिटर दहि र दुधबाट बन्ने विभिन्न परिकारहरु बजारमा बिक्री गरिरहेका छौं, सञ्चालक शर्माले भन्नुभयो दूध प्रतिलिटर ६० र दहि ८० रुपैंमा बिक्री गर्ने गरेका छौँ ।’
घरघरमै पुगेर दुध संकलन गर्नुका साथै हरेक महिनाको ५ गते र १३ गते किसानको घरमै पुगेर दुधको पैसा समेत बुझाउने गरेको शर्माले बताउनुभयो । घरमै पुगेर दूध संकलन हुन लागेपछि किसानहरु खुसी भएका छन् । यसअघि पसल वा घरसम्म दुध पुर्याउने पर्ने अवस्था रहेकामा अहिले भने घरबाटै दुध विक्रि हुन थालेपछि धेरै सजिलो कृषक मिना रोकाले बताउनुभयो । पैसा पनि घरमै पाईने भएपछि कृषकहरु झनै उत्साहित छन् ।