रुकुम पूर्वमा प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर र प्रदेश निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र उम्मेदवार बिजुली बल्ब चुनाव चिन्हका सुरुल पुन मगर (अजयशक्ति)ले सुरुवाति चरण देखि अग्रता कायम गरिराख्नु भएको छ ।
१४ वटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकाको ९, १३ र १४ मत परिणाम आउन बाँकी रहदा प्रतिनिधि सभामा सत्ता गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले तीन हजार एक सय ६, यसैगरी नेकपा एमालेका कैलाशकुमार मल्लले एक हजार दुई सय ४८ मत प्राप्त गर्नु भएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो । एमालेका मल्ल भन्दा माओवादी केन्द्रका घर्ती मगर एक हजार आठ सय ५८ मतले अघि हुनुहुन्छ ।
यसैगरी प्रदेश सभा क्षेत्र (क) मा बिजुलीको बल्ब चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार सुरुल पुन मगरले अग्रता कायम गरिराख्नु भएको छ । पुन मगरले दुई हजार दुई सय ३६ मत प्राप्त गर्दा सत्ता गठबन्धन तर्फका माओवादी केन्द्रका तेजबहादुर ओलीले दुई हजार ५४ मत प्राप्त गर्नु भएको पराजुलीले जानकारी दिनुभयो । अहिले गठबन्धनका ओली भन्दा स्वतन्त्र उम्मेदवार पुन मगर एक सय ८२ मतले अघि हुनुहुन्छ । पुन मगर र ओली बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।