नेपाल कम्युनिष्ट पार्टी केपी ओली पक्षले रुकुम पूर्वका तीन वटै स्थानीय तहमा संगठन गठन तथा पुर्नगठन गरेको छ । सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा पार्टीको पालिका कमिटि फर्मेशन गरिएको हो । केन्द्रीय तथा सदस्य तथा जिल्ला इन्चार्ज खेममान खड्का लगायतका नेताहरुले तीन वटै पालिकामा संगठन बनाएका हुन् । पार्टीले संयोजक, उप संयोजक र सचिव पदाधिकारी रहेको पालिका कमिटि फर्मेशन गरेको छ ।
सिस्ने गाउँपालिकामा हरिहर पौडेल संयोजक, तुलाराम कुवर उप संयोजक तथा देविलाल गिरी सचिव रहेको पार्टी पालिका कमिटि गठन गरिएको छ । भूमे गाउँपालिकामा ताराप्रसाद पुन संयोजक, नरप्रसाद सुनार उप संयोजक तथा जेपी पुन सचिव रहेको पालिका कमिटि गठन गरिएको हो । यसैगरी पुथाउत्तरगंगा गाउँपालिकामा भरतकुमार पुन संयोजक र सायधन बुढा उप संयोजक तथा लक्ष्मण बुढा सचिव रहेको पालिका कमिटि विस्तार गरिएको छ ।
नेकपा विभाजनसँगै रुकुम पूर्वमा प्रचण्डमाधव पक्ष र ओली पक्षमा नेताहरु लागेका छन् । प्रचण्ड माधव पक्षले पनि सबै पालिकामा पालिका कमिटिको बैठक तथा तथा प्रशिक्षण गरिसकेको छ । पार्टी एकताका क्रममा तत्कालिन माओवादीबाट संयोजकमा मेघबहादुर श्रेष्ठ र सचिवमा एमालेबाट सतमान पुन चयन भएका थिए । पार्टी फुटपछि भने श्रेष्ठ प्रचण्ड माधव पक्षमा लाग्नुभएको छ भने सचिव ओली पक्षमा लाग्नुभएको छ ।