रुकुम पूर्व प्रदेश सभा (ख)बाट विजयी हुनु भएका प्रदेशसभा सदस्य धनबहादुर केसीले आम मतदातालाई धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेसका केसी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । उहाँले माओवादी केन्द्रका बागी स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई पराजित गर्नु भएको हो ।
केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नु भएको छ–निर्वाचन व्यवस्था एउटा प्रक्रिया हो । जनताको प्रतिनिधि चुन्ने प्रक्रिया हो । लोकतन्त्रमा आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार आम मतदातासँग छ । हरेक ५ वर्षमा मध्यावधि निर्वाचन हुन्छ । यसैबाट आम जनताले आफ्ना प्रतिनिधि छान्छौं । नेपालमा नयाँ संविधान जारी भएपछि दुई वटा मध्यावधि निर्वाचन भए । २०७४ र २०७९ सालमा । २०७४ सालमा निर्वाचित प्रतिनिधिको कार्यकाल सकिएपछि २०७९ मंसिर ४ मा दोस्रो निर्वाचन भएको छ । यसको अन्तिम परिणाम आउने क्रम जारी नै छ ।
लोकतान्त्रिक व्यवस्था अन्तर्गत भएको यो निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्यमा मलाई निर्वाचित गराउनु भएकोमा म यस निर्वाचन क्षेत्रका सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु । साथै निर्वाचनमा अहोरात्र खट्नुहुने सम्पूर्ण बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी सबैप्रति कृतज्ञ छु । म सँगै प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई पनि धन्यवाद छ ।
जुन आशा विश्वासका साथ मलाई निर्वाचित गराउनुभयो त्यसकाप्रति पुनः धन्यवाद छ । अबको ५ वर्षे कार्यकालमा म प्रति गरिएको, मेरो पार्टीप्रति गरिएको विश्वास र आशा नघट्ने गरी काम गर्ने प्रतिबद्धता गर्दछु । प्रदेशसभाको नीति, निर्माण देखि जिल्लाको सम्पूर्ण विकासमा म निरन्तर लागि पर्नेछु र तपाईं सम्पूर्णले गर्नुभएको विश्वास, भरोषालाई कायमै राख्नेछु । जिल्ला तथा निर्वाचन क्षेत्रको विकास,समृद्धिका लागि विशेष योजना निर्माण गरी लाग्नेछु । केही समस्या र धेरै सम्भावनाको यो क्षेत्रको समग्र विकासमा निरन्तर लागिनै रहने छु । म जनताको प्रतिनिधि भएको छु । जनताको प्रतिनिधिका नाताले जिल्ला, निर्वाचन क्षेत्र र यहाँका जनताका लागि गर्नुपर्ने, निभाउनु पर्ने सम्पूर्ण भूमिका निभाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दोहोर्याउँछु ।
अन्तमा निर्वाचनमा मलाई जसरी सहयोग गर्नुभयो । मत दिएर, शुभेच्क्षा राखेर, सद्भाव देखाएर, प्रतिस्पर्धा गरेर सघाउनुभयो अब पनि मलाई यहाँहरुको यस्तै हातेमालो, साथ र हौसला चाहिन्छ । निरन्तर माग र खबरदारी चाहिन्छ । आगामी ५ वर्षमा विशेष गरी यहाँको विकासका काम गर्न आम मतदाता, जनता, राजनीति दल सबैमा सहकार्यको अपेक्षा गरेको छु । धन्यवाद,
धनबहादुर केसी
प्रदेशसभा सदस्य
रुकुम पूर्व प्रदेशसभा क्षेत्र नम्बर २