रुकुमपूर्व अस्पतालमा अब देखि जटिल शल्यक्रिया सेवा सुरु गरिएको छ । यसअघि शल्यक्रिया सुविधा नहुँदा यहाँका बिरामी महँगो रकम खर्च गरेर नेपालगञ्ज, सुर्खेत, दाङ लगायत ठाउँमा उपचार गराउन बाध्य थिए ।
हाललाई पहिलो पटक जटिल गर्भवतीको सफल शल्यक्रिया गरिएको अस्पतालका डाक्टर पूर्णबहादुर पुन मगरले कखरासँग बताउनुभयो । सिस्ने गाउँपालिका, जिल्ला प्रशासन, अस्पताल र स्वास्थ्यसँग सम्बन्धि राख्ने सहयोगी संस्थाको अग्रसतामा हाललाई पहिलो पटक जटिल अवस्थाका गर्भवतीको मात्र शल्यक्रिया सुविधा सञ्चालनमा ल्याइएको डाक्टर पुन मगरले जानकारी दिनुभयो । जस अनुसार शनिबार अस्पतालमा पहिलो पटक एक गर्भवती महिलाको शल्यक्रिया सेवा सफल भएको छ । भूमे गाउँपालिका –८, का सन्तु बुढाको शल्यक्रिया गरिएको हो । डाक्टर नारायण बरालको टिमले अस्पतालमा पहिलो शल्यक्रिया सेवा सफल बनाएको पुनले बताउनुभयो ।
सुत्केरी हुने समय नाघेको र नर्मल डेलिभरी हुन नसकेकोले शल्यक्रिया गर्नुपरेको डाक्टर पुन मगरको भनाइ रहेको छ । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जिल्ला बाहिर जाँदा बिरामीलाई सामान्य शल्यक्रिया गर्न पनि कम्तिमा एक लाख रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता थियो ।