बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमले गठबन्धलाई दीगो बनाउन विभिन्न निर्णय गरेको छ । शनिबार मुसिकोट खलंगामा बसेको गठबन्धन दल सम्मिलित बैठकले नव निर्वाचित प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा तथा प्रदेश सभा सदस्यहरु महेन्द्र केसी र राजकुमार शर्मालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै गठबन्धनलाई दीगो बनाउन विभिन्न निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबिच यसअघि गठित कार्यदलले मंसिर महिनाभित्र समस्या समाधान गर्ने र सो कार्यदलले समाधान गर्न नसकेका विषयहरु जिल्ला संयन्त्रमा पेश निर्णय भएको छ । उक्त विषयमा प्राप्त रिपोर्टका आधारमा जिल्ला संयन्त्रमा छलफल गरी पुस १० गतेभित्र आवश्यक निर्णय गरिसक्ने निर्णय भएको छ ।
जिल्ला संयन्त्रले विकास निर्माण र सरकार संचालन सम्बन्धी कार्यविधि आगामी पुस १५ गतेभित्र तयार गरी पेश गर्ने, जिल्लाको विकास र समृद्धिको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले तयार गरी आगामी माघ १५ गते भित्र जिल्ला संयन्त्रको बैठकमा पेश गर्ने र गठबन्धन दलमा भएका निर्णयहरु आ–आफ्नो पार्टीमा अनुमोदन गराई जिल्ला संयन्त्रमा पेश गर्ने र त्यस विषयमा जिल्ला संयन्त्रमा आवश्यक निर्णय गरी संयुक्त भेला गर्ने निर्णय भएको छ ।
त्यस्तै गठबन्धन दलको जिल्ला संयन्त्रको बैठकमा जिल्लाका प्रमुख नेताहरुलाई आमन्त्रण गर्ने पनि निर्णय भएको छ ।