Kakhara सबैको खबर सम्पूर्ण खबर
१५ वर्षमा १२ प्रतिशतले बढ्यो जनार्दनको भोट 

२०४८ सालमा पहिलो पटक निर्वाचन लडेका जनार्दन शर्मा कांग्रेस नेता गोपालजि जंग शाहसंग पराजित हुनुपर्यो । त्यसपछि भने उहाँले पछाडी फर्केर हेर्नु परेको छैन् । पहिलो पटक निर्वाचन लडेको १६ वर्षपछि २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका जनार्दनले त्यसपछि हार्नुभएको छैन् । २०६४ पछि २०७९ मंसिर ४ सम्म आइपुग्दा १५ वर्षको अवधिमा उहाँ रुकुमबाट चौथो पटक निर्वाचित हुनुभएको छ । 

जित मात्र होइन उहाँले आफ्ना प्रतिस्पर्धीलाई पराकिलो मतान्तर हराउँदै आउनुभएको छ । उहाँले पाइरहेको मतको आँकडालाई नियाल्दा उहाँले लगातार मतसंख्या बढाइरहनुभएको छ । २०६४ मा सदर मतको ५७.११ प्रतिशत मत पाउनुभएका शर्माले १५ वर्षको अवधिमा १२ प्रतिशतले मत बढाउनुभएको छ । 

२०६४ सालमा जिल्लामा कुल खसेको मध्ये ३९ हजार ५ सय ३१ मत सदर हुँदा शर्माले २२ हजार ५ सय ७५ मत पाउनुभएको थियो । यो कुल सदरमतको ५७.११ प्रतिशत थियो । त्यसको ६ वर्षपछि २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा शर्माले उक्त प्रतिशत बढाएर ६३.२५ प्रतिशत पुर्याउनुभयो । उक्त निर्वाचनमा ४७ हजार ८ सय ५५ मत सदर भएकामा शर्माले ३० हजार २ सय २७ मत पाउनुभएको थियो । 

त्यसको ४ वर्षपछि शर्माको मत ३ प्रतिशतले बढेर ६६.२७ प्रतिशत पुग्यो । उक्त निर्वाचनमा जिल्लाभरमा खसेको मध्ये ५१ हजार ९ सय १५ मत सदर भएको थियो । उक्त मत कुल सदर मतको ६६.२७ प्रतिशत थियो । अहिले २०७९ साल मंसिर ४ सम्म आइपुग्दा शर्माको मत २०७४ को तुलनामा ३ प्रतिशत र पहिलो संविधान सभाको निर्वाचन २०६४ पछि ११.९२ प्रतिशतले बढेको छ । 

मंसिर ४ को निर्वाचनमा जिल्ला भरमा कुल ६० हजार ५ सय २७ मत खसेको र त्यसमध्ये ५७ हजार २ सय ९५ मत सदर हुँदा शर्माको पक्षमा ६९.०३ प्रतिशत मत खसेको छ । संख्यामा उक्त मत ३९ हजार ५ सय ४९ हुन आउँछ ।

रुकुमेलीले जनार्दनलाई निर्विकल्प नेतृत्व स्वीकार गरेका छन्ः शर्मा 
नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गोपाल शर्माले रुकुमेलीले जनार्दन शर्मालाई निर्विकल्प नेतृत्वका रुपमा स्वीकार गरेको बताउनुभएको छ । अन्य नेताको सन्दर्भमा मत घट्दै जानु र जनार्दनको मत प्रत्येक निर्वाचनमा बढ्दै जानुले यसलाई पुष्टि गर्ने उहाँको भनाई छ । 

सिंगो रुकुमेली जनाताले विकास र समृद्धिकोका लागि जनार्दनको विकल्प नदेखेकोले निरन्तर विश्वास गरिरहेको नेता शर्माले बताउनुभयो । त्यसैको उदाहरण स्वरुप अहिले जिल्लाका मख्य दलहरु एक ठाउँमा उभिनुलाई पनि हुेर्न सकिने उहाँले बताउनुभयो । तर गठबन्धन भएर मात्र उहाँको मत बढेको भन्दा पनि रुकुमेली जनताले उहाँको विकल्प नदेखेको भनाई शर्माको छ ।   
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update