Kakhara सबैको खबर सम्पूर्ण खबर
जनताको काम गर्न नसकेको भन्दै वडा सदस्यको राजिनामा
गाउँकार्यपालिकामा बुझाइएको राजिनामा पत्र ।

हरेक कामकाज पारदर्शी नभएको र जनताको भावना विपरीतका काम भइरहेको भनेर यहाँको एक वडा सदस्यले राजिनामा दिएकी छिन् । त्रिवेणि गाउँपालिका ९, कि महिला सदस्य भिमा खड्काले जनताप्रति उत्तरदायी नहुने वडा कार्यालय, गाउँकार्यपालिका तथा गाउँ सभामा नबस्ने भन्दै राजिनामा दिनुभएको हो । तत्कालिन नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित खड्काले वडादेखि गाउँपालिका सम्मले गरेका कामकारबाहीमा असन्तुष्टि जनाउनुभएको छ ।

पटक पटक कामकारबाही जनभावना अनुरुपका बनाउन आग्रह गर्दा पनि नभएपछि राजिनामा दिएको उहाँले बताउनुभयो । दुई पृष्ठको राजिनामा पत्रमा निर्वाचनको क्रममा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न हर कोशिश गर्दा पनि नसकिएको, प्रयास नभएको उल्लेख गर्नुभएको छ । जनताका पक्षमा लड्दा लड्दै, खबरदारी गर्दा गर्दै पनि जनताको माग सुनुवाई नभएपछि पदमा रहि रहनु उचित नभएकाले राजिनामा दिएको उल्लेख गर्दै खड्काले वडाध्यक्ष मात्रै सबै अधिकार सम्पन्न भएको महशुस हुने गरी निर्णय गरिने अरु वडा सदस्यको अपमान भएको बताउनुभएको छ ।

वडामा आउने बजेट, कार्यक्रमका बारेमा कसैलाई जानकारी नै नदिई मनोमानी ढंगबाट भइरहेको कार्य रोकी सन्तुलित विकासको आग्रह गर्दा पनि नटेरिएको राजिनामा पत्रमा उल्लेख छ । यस विषयमा वडाध्यक्षले भने आफूलाई केही जानकारी नभएको बताउनुभएको छ । वडाध्यक्ष विरबहादुर डाँगीले राजिनामा पत्र गाउँपालिकामा दर्ता भएको जानकारी भने आफूले पाएको बताउनुभयो । सबै आफूले भनेका कुरा पूरा नहुने भन्दै वडाध्यक्षले धेरै महत्वकांक्षा पाल्न नहुने बताउनुभयो । ‘यस विषयमा खासै थाहा छैन, उहाँका केही कुरा पूरा भएका छैनन् होला, बसेर छलफल गर्न सकिन्छ,’ वडाध्यक्ष डाँगीले भन्नुभयो । आफू कामको शिलशिलामा केही दिनदेखि गाउँपालिका बाहिर रहेको वडाध्यक्ष डाँगीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update