सृर्जना सिज्जु
रारा जान हतार नगर्नुहोस, जानु भयो कम्तिमा यि ठाउँहरु पुग्न नछुटाउनुहोस.....
बिहानीपखको रारा, मध्यान्ह तिरको रारा, गोधूलि साँझको रारा, मध्यरातमा रारा, मुर्माटपबाट रारा, मिलिचौरबाट रारा, निजार पुलबाट रारा, ठाकुरनाथबाट रारा, ओखरबोटबाट रारा, टावर घरबाट रारा । त्यति मात्र होइन दिनमा एक पटक हवाइजहाजले फनक्क फन्को लगाउने रारा, बिहानीपख चराचुरुङ्गीको आवाजले गुन्जयमान रारा , ७, ८ बजे तिर गुम्न आउने पर्यटकहरुले बोटमा चडेर चुम्न खोज्ने रारा, बेगले चल्ने हावा सँगै छालहरुले किनारलाई छुन खोज्ने रारा , माझ घट्ट मुर्मा गाउँका स्थानीयले घोडामा नुन, तेल बोकेर आँफु गोडा चडेर दिनमा एकपटक फनक्क फन्को मार्ने रारा, मोवाइलमा मिठा मिठा आँफुलाई मन परेका गीतहरु सुन्दै मचानमा बसि हेरिएको रारा ।
रारामा ७ दिन मेरो लागि थोरै समय होइन । रारा घुम्न पुग्नेहरु बढिमा २, ३ दिन बसेको रेकर्ड छ । अँझै कति जना त हुटु नपुगि मिलिचौरबाट नै फर्किन्छन । कति मिलिचौरबाट बोट चढेर डाँफे होटल पुगेर एक रात बसेर रमाइलो गरेर फर्किन्छन । यहाँ सम्म पुगियो मुर्मा टप पुगौं न त भन्नेहरु कमै भेटिन्छन यदि तपाई रारा पुग्नु भएको छ भने कुन बर्गमा पर्नु भयो आँफै सम्झ्नुहोला । मैले भन्न खोजेको पुग्नै पर्छ भन्ने त छैन तर पुगेको एकदमै उत्तम अँझै ठाडो भाषामा भन्नुपर्दा रारा जानु भयो भने मुर्मा टप नपुगि फर्कनु भनेको ९० प्रतिशत रारा तालको सुन्दरता हेर्न छुटाउनु हो गाली गरे गर्नुहोस । मुर्मा टपको डाँडा त रारा हेर्न कै लागि बनेको हो, तल रारा ताल हुँदैन थियो भने मुर्मा टप पनि हुँदैन थियो होला । अब सोच्नुहोस त्यहाँ पुगेपछि कस्तो देख्छ रारा । ओखर बोटबाट सिँढी सिँढी हुँदै उकालो लागेपछि जति जति माथि पुग्दै गयो, पछाडि फर्किदै हेर्दै गर्थे त्यति त्यति राराको भ्यू खुल्दै थियो, मतलब फराकिलो देखिँदै थियो । तालको छेउमा बसेर आँखाको डिल नपुग्ने दृश्य बिस्तारै आँखाले समेट्दै थियो । जङगलको बाटो हिड्दा अलि देखिदैन थियो फेरि बाटोको डिल मुनि पुगेर तालको आधि भाग भएपनि देखिने ठाउँमा गएर हेर्थे, रुखहरुको बिचबाट पनि राराको दृश्य कम्ता राम्रो देखिएको थिएन ।
जब सिटामोल खाएर नशा चुँडिने गरि छाती दुख्ने गरी खोक्दै स्वाँ फ्वाँ गर्दै मुर्मा टप पुगे त्यति बेला दिउँसोको १,२ बजेको थियो ३५०० मिटर माथि मान्छे उडाउने हावा चलिरहेको थियो । ओहो ! बल्ल रारा तालको दृश्य आँखामा अटायो । पुरै रारा ताल टक्क आँखा नझिम्काइकन हेर्दा त रारा ताल पनि म संग लजायो होला कस्तो आँखा नझिकाइनक एकोहोरो हेरेको भनेर ।
रारालाई फरक फरक समयमा फरक फरक स्थानबाट हेर्ने ठुलो रहर थियो । त्यसपछि मुर्मा टप बाट १५ मिनेट तल ओर्लिएपछि रारा इको रिसोर्ट छ । त्यहाँबाट पनि राराको पुरा दृश्य हेर्न सकिन्छ । ब्याग कोठामा राखेर होटल वरपर डुले, खाना खाने कटेजको झ्यालबाट रारा ताल हेरे, ट्वाइलेटबाट निस्किदा पनि रारा तालको निलो आधि भाग देखे, पाहुना सुत्ने घरको तल्लो तलाको बायाँ झ्यालमा त झन साँझपख सुर्यास्त हुँदा टल्ल्क टलेको हिमाल रारा तालको आधि भागको रिफेलेक्सन बबाल देखिएको थियो।
बिहान ५ बजे उठेर सुर्योदय हुन लाग्दा त रारा ताल देखेर म चकित परे निलो रङ्ग नै गायब थियो । खाना खाँदै श्रुति सम्बेग सुन्दै पनि रारा हेरे । उकालो चड्दा खुल्दै गएको रारा फर्किंदा साँघुरो हुँदै गएको थियो आँखाको नजरबाट । जंगलको बाटो बरालिँदै बिस्तारै हिडे जंगल भित्र बिस्तारै हिडनु भनेको बिभिन्न प्रकारका चराचुरुङ्गी र जीव जन्तुसंग भेट हुनु हो । मैले कालिज देखेको थिए त्यो फोटो खिचेन भिडिओमा छ पछि युटुब मा आउँछ । ओखर बोट पुग्दा साँझ पखको ६ बज्न थालेको थियो । निजार पुल साइट माथिको आकाशमा त पुरै गोल्डेन बादल कुदिरहेको थियो हेरेर चकित परे । भोलीपल्ट बिहान दाईहरु लाई सोधे रारा ताल फनक्कै घुम्न कति समय लाग्छ ? रारालाई फनकै फन्को मार्न बोटमा ६, ७ घण्टा लाग्छ यति भने पछि मैले चाँहि बोट नचढ्ने निर्णय गरे सकेसम्म धेरै ठाउँ हिडेर पुगे । एउटै ताल भित्र घुमिरहेको पानीले ठाउँ अनुसार फरक अवाज दिन्छ । निजार पुलमा रारा तालको निकास छ, त्यहाँ पुग्दा रारा तालको पानी बगिरहेको सुनिन्छ । ठाकुर नाथ साइटमा पुग्ने हो भने समुन्द्र छेउमा छु जस्तो लाग्छ, पानीका छालहरुले किनारमा हिडिरहेको मान्छे लाई छुनै खोज्छ । ओखरबोट नजिकको पानीको आवाज बुल बुल टाइपको छ, मिलिचौर साइटमा पुरै साहित्यिक टाइपको सिनहरु लाग्छ मानौं त्यो जगामा कोही कबि, लेखक, गजलकार पुग्यो भने के के चाँहि लेख्छ्न होला ? छुट्टै ख्यालको आनन्द, म भिडियो बनाउने भएकोले त्यसलाई cinematic video खिच्न मिल्ने ठाउँ भन्छु । मिलिचौरको अर्को बिशेषता भनेको चंखेलि हिमालको आधि भाग देख्न पाईन्छ । अनि बोट चड्ने ठाउँ नजिकै क्यान्टिन नेर माछाहरुको बासस्थान छ । विश्वकै अग्लो स्थानमा पाउने हिमाली असला प्रजातिको माछा पाउँछ । त्यहाँ नेर बस्यो भने माछा मज्जा ले हेर्न पाईन्छ । निकुञ्ज कार्यालय, डाँफे होटेल, ओखरबोट र निजार पुल सम्म रारामा पाइने एक मात्र रैथाने मरुल चराको एकलौटी राज चल्छ, पानीमा डुबुल्कि मार्दै रमाइरहेको देखिन्छ । जाडो महिना बसाई सराई गरेर आउने चरालाई भने हामीले तालको जुन सुखै कुनामा पनि देख्न सक्छौ । दिनभर चलायमान देखिने रारा साँझ पर्न थालेपछि शुन्यतामा पुगेको जस्तो लाग्छ । मस्त निद्रामा परेको जस्तो । राति ८, ९ बजे मैले ३, ४ पटक यता उता गरेकि छु । किनार वरपर एक दिन जर्मनी र जापानको गेम हेर्नबाट फर्किदा लाग्यो भित्रको माहोल त पुरै तातिएको थियो बाहिर त यस्तो चिसो पो रहेछ हामी मान्छे मात्र हो नियम मिच्ने प्रकृतिले कहिले नियम मिच्दैन समय संगै चल्छ ।
निकुञ्जमा काम काम गर्ने पदम दाई लाई सोधे, किन हो दाइ रारालाई जति हेरे पनि हेरौं लाग्ने तपाइहरुलाई त दिक्क लाग्छ होला है ?
बहिनी हामी २, ३ बर्ष यहीँ बस्दा त एकदिन पनि नहेरौं, नखिचौं, नडुलौं जस्तो लाग्दैन, जति हेर्यो त्यति राम्रो लाग्छ । रारा संगै साँच्चै एउटा अदभुत शक्ति रहेछ । हेरेर नअघाउने, डुलेर नथाक्ने, जति हेर्यो त्यति राम्रो हेरिरहौं लाग्ने अंगालोमा कसिरहौं जस्तो लाग्ने ।
पहिला देखिनै रारा पुग्न मन थियो तर एक्लै, फेरि एक्लै किन भन्नुहोला ? एक्लै पुग्नु, घुम्नुको एउटा बेग्लै मज्जा भनेको गहिराइमा डुबेर अनुभव गर्न पाइन्छ । हरेक कुरालाई, प्रकृतिलाई अथाह प्रेम गर्न पाईन्छ । साइटमा साथि भए त हेर्न कस्तो राम्रो ताल, ओई खिच्देन फोटो, ओई यहाँ नेर यस्तो टिकटक बनाउन अनेक हुन्छ । त्यति मात्र होईन ठ्याकै प्लान गरेर हिड्न पर्छ आज बस्ने भोली फर्कने भनेर । भन्न खोजेको लिमिटेशन हुन्छ मलाई यात्रा मा लिमिटेशन राखेको र भए भरको योजना कोरेको मन पर्दैन । म ग्रुप ट्राभल मन पराउन्न भन्ने चाँहि होईन है ठाउँ अनुसार मन पर्छ । जस्तो कि अलि नाम चलेका गन्तव्यहरु सेवा सुबिधा भएका रुटहरुमा ३, ४ जनाको ग्रुप ट्राभल पनि छुट्टै रमाईलो हुन्छ । तर प्रकृतिलाई बुझ्नु छ, महशुस गर्नु छ केही दिन हराउनु छ भने लुकेका गन्तव्यहरुमा एक्लै जान एकदम मन पर्छ । रारा पनि आन्तरिक र बाह्य पर्यटकको बाक्लै आवात जावत हुने ठाउँहो म समय कुरेर बसेको थिए कुन बेला गयो भने म रारा ताललाई एक्लै धित मरुन्जेल हेर्न सक्छु भनेर ठ्याकै चुनावको समय पारेर गए साँच्चै सोचे जस्तै भयो । चुनाव पछि बिस्तारै मान्छेहरु आउने जाने क्रम जारी थियो। अँझै बिरामी नभएर रुघाखोकी नलागेको भए मैले रारा तालसँग नछुटिने माया पिरति लगाउँथे होला । सन्चो नहुँदा अलि मज्जा आएन तर जे जे भयो गजब भयो । रारामा कम्तिमा ४ दिन बिताउनु होला, मुर्मा टप नगएर नफर्किनु होला, त्यसपछि मैले किन यस्तो भनेको रहेछु पछि आँफै उत्तर पाउनु हुन्छ् ।
Solo Travel को लागि रारा सुरक्षित छ ?
मेरो कोणबाट भन्ने हो भने मलाई संसारको कुनै पनि कुना असुरक्षित छ जस्तो लाग्दैन । समयको खेल हो मान्छेहरुको सोच हो घर भित्र पनि हिंसा भइरहेको हुन्छ समाज टोल र गाउँभित्र पनि नराम्रो घटना घटिनै रहेको हुन्छ । त्यसैले सबैभन्दा पहिला फराकिलो सोच दृढ इच्छाशक्ति र आँफु माथि विस्वास गर्नु पर्छ । रारा कर्णालीका अन्य गन्तव्य भन्दा सजिलो छ । हवाइजहाज मार्फत जानु भयो भने ७५०० भाडा लाग्छ । ताल्चा एयरर्पोट मा ओर्लिएर गाडीमा सल्लेरीसम्म पुगेर हिडदै मिलिचौर जान सक्नु हुन्छ । म चाँहि ताल्चा ओर्लिएर निकुञ्जको चेक पोस्ट हुँदै ठाकुरनाथ हुँदै पुगेको हो । मलाई ३ घण्टा लाग्यो पुग्दा ७ बजेको थियो एकदमै अध्याँरो थियो पछाडि फर्केर कति हेरे हेरे हाहा.....सोलो ट्राभलमा सामान अलि धेरै बोक्न पर्छ कुन बेला के चाहिन्छ थाहा हुँदैन सो अलि ब्याग बोक्न दुःख हुन्छ् ।
साथी भेटिन्छ अनि भेटेकोहरुलाई कसरी विश्वास गर्ने, सधैँ एकनास हुँदैन भेटिन्छन भन्ने पनि छैन, विश्वास त गर्नु पर्छ । आँफु सजक रहन पनि सिक्नु पर्छ । यात्रामा भेटिनेहरु नराम्रो स्वभावको हुँदैनन् । हामी पुग्ने ठाँउमा मान्छे हुँदैननन् कि, कोही छैन कि भन्ने सोच्नु गलत हो । जहाँपनि सहयोगी र मनकारी मान्छे भेटिन्छ्न त्यो तपाईको ब्यवहारमा भर पर्छ । एक्लो यात्रा भन्नुको मतलब कोहीसंग नबोल्नु, कोहीसँग नभेट्नु, कोहीसंग कुरा नगर्नु, एकल काँटे हुनु होइन । सकेसम्म संसारलाई आफ्नो बनाउने समय हो, मज्जाले कुरा गर्नुहोस, नयाँ कुरा सिक्नुहोस, आँफुले जानेको सिकाउनुहोस, स्थानीयसंग भलाकुसारी गर्नुहोस् ।
सोलो ट्राभलले धेरै कुरा सिकाउँछ अरु बिस्तारै भन्दै जाउँला.......