सामाजिक विकास कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०७९/०८० मा विभिन्न ५ वटा शिर्षकमा काम गर्दै छ । कार्यालयले आज अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर यो वर्ष संचालन हुने कार्यक्रम र बजेटका बारेमा जानकारी गराएको हो । कार्यालयका अनुसार यो वर्ष मुख्य ५ शिर्षकमा काम हुने छन् ।
राष्ट्रिय युवा परिचालन कार्यक्रम, राष्ट्रिय खेलकुद परिषद्, सामाजिक विकास कार्यालयहरु, विद्यालय क्षेत्र विकास कार्यक्रम जिल्ला स्तर र सामाजिक विकास कार्यालयहरु शिर्षकमा विभिन्न कार्यक्रम संचालन हुने र बजेट खर्च हुन लागेको सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आचार्यले जानकारी दिनुभयो ।
यि कार्यक्रम मध्ये युवा परिचालन, खेलकुद परिषद् र विद्यालय क्षेत्र विकास कार्यक्रम संघको शसर्त अनुदानमा संचालन हुन लागेको उहाँले बताउनुभयो । यि ५ शिर्षक भित्र के के कार्यक्रम गर्ने भनेर सबै निक्र्यौल भने भइनसकेको उहाँको भनाई छ । युवा परिचालनका लागि ३९ लाख र खेलकुद परिषद् शिर्षकमा ४ लाख बजेट रहेको आचार्यले बताउनुभयो ।
त्यस्तै सामाजिक विकास कार्यालय तर्फ २८ करोड १८ लाख, विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत ११ लाख र सामाजिक विकास कार्यालयहरु तर्फ १ करोड ७३ लाख ९३ हजार बजेट रहेको कार्यक्रममा जानकारी गराइएको छ । त्यस्तै गतवर्षको समिक्षा समेत गरिएको छ । गतवर्ष कार्यालयले ८१.३९ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको जानकारी गराइएको छ ।
विभिन्न ५ वटा शिर्षकमा ७० करोड वजेट विनियोजन भएकामा ७५ करोड ६५ लाख २७ हजार ६ सय ५० रुपैंया खर्च भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । कार्यक्रमका सहभागिहरुले स्थानीय सरकार सहित सबै सरोकारवाला निकायसंग समन्वय गरेर कार्यक्रम बनाउन र कार्यान्वयन गर्न सुझाव दिएका छन् । अहिले जिल्लामा खास समन्वय हुन नसक्दा धेरै कार्यक्रमहरु सफल नभएको र बजेट समेत फिर्ता गएको देखिएको भन्दै सरोकारवालाहरुले समन्वयमा जोड दिएका हुन् ।