Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा १० हजार सर्वसाधारणलाई काेराेना विरूद्धकाे खोप लगाईदै

रुकुम पश्चिममा पनि फागुन २३ गतेदेखि जनस्तरमा कोरोना भाईरस विरुद्धको खोप आभियान सुरु हुँदै छ । दोस्रो चरणको खोप अभियान अन्तरगत जिल्लामा करिब १० हजार सर्वसाधारणहरुलाई खोप लगाईदै छ । ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई जिल्ला भरमा खोप केन्द्र स्थापना गरेर खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जसका लागि यस अघिकै १ सय ४१ नियमित खोप केन्द्र तोकिएको छ । यि खोप केन्द्रबाट सबै ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई खोप दिने लक्ष राखिएको स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

जसका लागि खोप सुपरिवेक्षक र खोपकर्ताहरुलाई खोप सम्बन्धी तालिम दिईसकिएको छ । खोप कार्यक्रमका लागि ६० जना खोप कार्यकर्ता रहेका छन् भने ३९ जना खोप सुपरिवेक्षक तोकिएको खड्काले बताउनुभयो । यसअघि ५५ वर्ष माथिका नागरिक, शिक्षक र सार्वजनिक सवारी साधानका कर्मचारीलाई खोप लगाउने भनिएकामा अहिले भने सरकारले ६५ वर्ष माथिका नागरिकलाई मात्र खोप दिन भनेको खोप सुपरभाईजर अधिकृत खड्काले बताउनुभयो ।

यसअघि २१ हजार नागरिकलाई खोप दिने लक्ष राखिएमा पछिल्लो निर्देशन अनुसार १० हजारलाई खोप दिने लक्ष राखिएको उहाँको भनाई छ । तर जिल्लामा प्रयाप्त खोप भने नरहेको उहाँले बताउनुभयो । अहिले ७ सय ४१ भाईल खोप आएको र जिल्लामा मौज्दात समेत रहेको गरी हाल जिल्लामा ८ सय भाईल खोप रहेको बताईएको छ । यो खोपले करिब ८ हजार जनालाई पुग्ने खोप सुपरभाईजर अधिकृत खड्काले बताउनुभयो । लक्ष अनुसार खोप दिने हो भने यो खोप अपुग रहेको उहाँले बताउनुभयो । हालसम्म जिल्लामा २६ सय ११ जनाले खोप पाएका छन् । पहिलो चरणमा दुई पटकमा गरी खोप दिईएको थियो ।

यसैविच कोभिड–१९ रोग विरुद्धको खोप अभियान सम्बन्धी जिल्ला समन्वय समिति तथा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज मुसीकोट खलंगामा कार्यक्रम गरी खोप अभियानका बारेमा जानकारी गराईएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख इन्दीरा बुढाको प्रमुख आतिथ्यता रहेको थियो । स्वास्थ्य सेवा कार्यालयका सिनियर अहेव तथा कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बढाथोकीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update