Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १२ को सुत्केरी भत्ता कार्यक्रम जारी, अहिलेसम्म १५ जना आमाले पाए 
वडाकाे नयाँ गाउँ पातुखाेला टोलकी गीता खत्रीलाई सुत्केरी स्याहार भत्ता प्रदान गर्दै वडाध्यक्ष धिरन सिर्पाली लगायतकाे टाेली ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित भई पदभार ग्रहणका क्रममा सुत्केरीलाई स्याहार खर्च दिने पहिलो घोषणा गर्नु भएका रूकुम पश्चिमकाे मुसिकोट १२ का वडा अध्यक्ष धिरण सिर्पालीले सुत्केरीलाई स्याहार खर्च दिने कामलाई निरन्तरता दिनुभएको छ । अहिलेसम्म उहाँले वडाका १५ जना महिलालाई सुत्केरी स्याहार भत्ता दिनुभएको छ । 

पछिल्लो पटक हिजो उहाँले नयाँ गाउँ पातुखोलाकी गीता खत्रीलाई सुत्केरी स्याहार भत्ता प्रदान गर्नुभएको छ । गीताले कार्तिक ३१ गते छोरालाई जन्म दिनुभएको थियो । अहिलेसम्म वडाका १५ जना सुत्केरी आमालाई स्याहार भत्ता उपलब्ध गराइएको वडाध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । 

वडाध्यक्षको पहिलो घोषणा अनुसार वडाले प्रत्यक सुत्केरीलाई ३ हजार स्याहार भत्ता उपलब्ध गराउँदै आएको छ । जनप्रतिनिधि र कर्मचारीको टोलीले घरमै पुगेर भत्ता वितरण गर्दै आएको छ । सोही अनुसार पछिल्लो पटक सत्केरी स्याहार भत्ता वितरणका लागि वडाध्यक्ष सिर्पाली, वडा सदस्य लालबहादुुर केसी, वडा सचिव देविलाल पुन सहितको टोली गीताको घरमा पुगेको थियो । 

आमा र शिशुको पोषण स्थितिमा सुधारका लागि टेवा पुगोस भनेर वडाको तर्फबाट ३ हजार रुपैंया दिइरहेको वडाध्यक्ष सिर्पालीको भनाई छ । यो ठूलो रकम नभएपनि आमा र शिशुको स्वास्थ्यका लागि सरकारले लिएको अपन्वत्वका रुपमा बुझ्नुपर्ने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update