रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ मा परम्परागत रुपमा लाग्दै आएको कुनाखेत मेला यस वर्ष मंसिर १९ गते देखि लाग्ने भएको छ । मेलाको अवसरमा वडा युवा तथा खेलकुद विकास समिति बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना समेत गरेको छ ।
मेलालाई भव्य बनाउन भन्दै शुद्ध खुला वडा स्तरीय महिला, पुरुष भलिबल र महिला, पुरुष डबल व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद १ लाख २० हजार ५५ रुपैँयाको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
दोस्रो हुने टिमले नगद ७० हजार, मेडल र प्रमाण–पत्र पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमलाई समान २५ हजार ५ सय, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजक वडा युवा तथा खेलकुद विकास समितिका गणेश केसीले जानकारी दिनुभयो ।
त्यस्तै महिला भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद २५ हजार ५ सय ५५ रुपैंया, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो बन्ने टिमले नगद १५ हजार ५५, मेडल र प्रमाण–पत्र तथा सेमिफाइनल पुग्ने दुई टिमले समान ७ हजार ५ सय ५५, मेडल र प्रमाणपत्र प्राप्त गर्ने केसीले बताउनुभयो ।
पुरुष ब्याडमिन्टन तर्फको विजेता जोडीले नगद २० हजार ५ सय ५५,मेडल र प्रमाण–पत्र पाउँदा उप–विजेता जोडीले नगद १३ हजार ५ सय ५५, मेडल र प्रमाण–पत्र पाउने छ । सेमिफाइनलमा पुग्ने दुई जोडीले समान ४ हजार ५५ रुपैंया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
महिला तर्फ विजेताले १० हजार, उप–विजेताले ६ हजार ५ सय ५५ र सेमिफाइनलमा पुग्ने दुई जोडीले समान २ हजार ५५ रुपैैंयाको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै मेलामा प्रस्तुत गरिने सिंगारु नाच, मयुर नाच, पैंसेरु नाच लगायतका झाँकीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको बाँफिकोट गाउँपालिका २ का अध्यक्ष प्रकाश खत्रीले बताउनुभयो ।
मेलालाई व्यवस्थित बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । मेला समापन मंसिर २३ गते हुने छ । उक्त मेला बाँफिकोट गाउँपालिका भित्र लाग्ने ठूलो हो ।