Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटको किबि कर्णाली वेभरेजले खरिद गर्दै, ढुवानीमा लाग्ने भाडा नगरपालिकाले तिरिदिने 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका किसानले उत्पादन गरेको किबि कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको छ । हिजो  कर्णाली वेभरेज प्रालि र किसानहरुको सहमति अनुसार आठबीसकोट नगरपालिका वडा नम्बर १२ झिनचौरमा रहेको कर्णाली वेभरेजले  किसानले फलाएको किबि खरिद गर्ने भएको हो । 

वेभरेजले प्रतिकिलो १ सय २५ रुपैैँयामा किबि खरिद गर्ने सहमति भएको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा  १ सय ४२ क्विन्टल किबि उत्पादन भएको छ । ६ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यवसायिक किबि उत्पादक किसानहरु छन् ।

पहिलो स्थानीय सरकारले किबि खेतिलाई जोड दिएपछि नगरपालिकामा किबि खेति गर्ने किसानको संख्या धेरै छ । सरकारले किसानलाई अनुदानमा ठूलो मात्रमा किबिको बिरुवा विरतरण गरेको थियो । भने किसान आफैले किनेर पनि बिरुवा लगाएका छन् । नगरपालिकामा गत वर्ष मात्र २१ सय वटा किबिका विरुवा रोपेका थिए । अहिले नगर भरमा करिब १५ सय किबिका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ । 

उक्त बोटबाट करिब १ सय ४२ क्विन्टल किबि उत्पादन हुने अनुमान सहित नगरपालिकाको रोहबरमा कर्णाली वेभरेज र किसानका विचमा सहमति भएको हो । त्यस्तै नगरपालिकाले ढुवानीमा अनुदान दिने भएको छ । किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किबि पुर्याउनको लागि लाग्ने भाडा नगरपालिकाले तिरिदिने  नगर प्रमुख केसीले बताउनुभयो ।

अहिलेसम्म किसानले आफु आफुले किबि बिक्रि गरिरहेकामा पहिलो पटक नगरभरको किबि एकमुस्ट बिक्रि हुन लागेको हो । नगरमै किबि खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषकहरु खुसि भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update