रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ र २ लाई जोड्ने बराहटाकुरा झोलुंगे पुलको नजिकै पिङ बन्दै छ । पुलको नजिकै वडा नम्बर २ पट्टी पर्ने सल्ले तिरको भिरालो ठाउँमा व्यवसायिक रुपमा संचालन गर्ने गरी पिङ निर्माण भइरहेको हो । जिल्लाको सानीभेरी गाउँपालिकाका सन्तोस खड्का र सल्यान दार्मा गाउँपालिकाका रञ्जित ओलीको संयुक्त लगानीमा पिङ निर्माण हुन लागेकाे हाे ।
पिङ निर्माणको काम जारी छ । करिब डेढ महिना देखि पिङ निर्माणको काम चलिरहेको र अवको करिब १ महिना भित्र संचालन हुने गरी काम भइरहेको खड्काले बताउनुभयो । पिङ निर्माण गरेर व्यवसायिक रुपमा संचालन गर्ने लक्ष राखिएको उहाँले बताउनुभयो । साहसिक पर्यटन विकासमा टेवा पुर्याउने उदे्श्यले पिङ निर्माण गर्न लागेको उहाँको भनाई छ ।
उहाँका अनुसार एउटै संरचनामा दुई वटा पिङ रहेन छन् । दुई जनाले संगै खेल्न मिल्ने एउटा पिङ रहने छ भने अर्को पिङ सिंगल हुने खड्काले बताउनुभयो । आवश्यक सबै मापदण्ड पुरा गरेर तथा सबै सुरक्षा सतर्कता अपनाएर करिब १२ लाख खर्चिएर पिङ निर्माण गर्न लागेको उहाँको भनाई छ ।
अहिले पुल हेर्नका लागि मात्र धेरै मान्छेहरु पुग्ने गरेको र घुमघाम तथा साहसिक पर्यटन विकासका लागि उक्त ठाउँ उपयुक्त रहेको उहाँले बताउनुभयो । त्यसलाई ध्यानमा राखेर पिङ, स्काई चियर र स्काई साइक्लिङसम्म संचालन गर्ने लक्ष खड्काले राख्नुभएको छ । अहिले तत्काललाई भने पिङ संचालन गरिने र त्यसपछि बाँकी सेवा संचालनमा ल्याउने उहाँले बताउनुभयो ।