Kakhara सबैको खबर सम्पूर्ण खबर
क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै
नेपाली टिम ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।

विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो ।

त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेलमा हार व्यहोरेको थियो । त्यसैले ओडीआईमा नेपाल नामिबियाविरुद्ध पहिलो जितको खोजीमा छ ।

स्कटल्याण्डमा भएको शृंखलामा नेपाल नामिबियासँग पहिलो खेलमा ६३ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । यस्तै शृंखलाको पहिलो खेलमा बिहीबार नामिबिया स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो ।

नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट नेपालको १७ अंक छ र छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ । लिग टुमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालिफाइरमा पुग्ने हो भने नेपालका लागि अहिलेको र बाँकी सबै शृंखला महत्वपूर्ण छ । त्यसैले नेपालले नामिबियामा सकेसम्म धेरै खेल जित्नुपर्नेछ ।

पूर्व कप्तान तथा नेपाली टिमका अनुभवी सदस्य ज्ञानेन्द्र मल्लले कम्तीमा तीन खेल जित्ने लक्ष्य रहेको नामिबियाबाट बताएका छन् । नयाँ कप्तान, नयाँ प्रशिक्षक अनि फेरिएको टिम सहित नेपाल यस पटक नामियामा पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update