आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले आज बलियो टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा सुरु हुनेछ ।
नेपाललाई शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि जित्नै पर्ने दबाब छ । पहिलो खेलमा नेपालले नामिबियासँग वर्षाको कारण अंक बाँडेको थियो । ज्ञानेन्द्र मल्लको ७५ रनको सहयोगमा नेपालले १ सय ९७ रन बनाएको थियो । तर नामिबियाले ४ बल खेल्दै ४ रन बनाउँदा वर्षाको कारण खेल रद्ध भएको थियो ।
स्कटल्यान्ड २९ खेलमा २० मा जित र ७ मा हारसहित ४२ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डको शीर्ष तीन लगभग पक्का पक्की जस्तै बनेको छ । नेपाल २१ खेलमा ८ मा जित र ११ मा हार सहित १८ अंकका साथ छैटौं स्थानमा छ । आइसिसी विश्वकप लिग २ को सर्वाधिक बलियो टोली स्कटल्यान्डलाई स्तब्ध पार्दै नेपाल महत्वपूर्ण दुई अंक जोड्ने सोचमा हुनेछ । तर नेपाललाई सहज भने हुनेछैन ।