Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाका तीन ठाउँमा सुपथ मुल्य पसल संचालन 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले तीन ठाउँमा सुपथ मुल्य पसल संचालन गरेको छ । गाउँपालिकावासीलाई सुपथ मुल्यमा सामान उपलब्ध गराउने उदे्श्यले गाउँपालिकाले तीन ठाउँमा सुपथ मुल्य पसल संचालन गरेको हो । 

पछिल्लो पटक गाउँपालिकाले वडा नम्बर ६ को देउताखाेलामा ठाउँमा सुपथ मुल्य पसल संचालन गरेको हो । गाउँपालिकाको बिकट मानिने वडा नम्बर ५ र ६ लाई मध्यनजर गर्दै देउताखाेलामा दैनिक उपभोग्य सामग्री बिक्रि गर्न सुपथ मुल्य पसल संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको सिम्ली र गिठाकोटमा यसअघि नै सुपथ मुल्य पसल संचालनमा आइसकेका थिए । अव गाउँपालिकाको अर्मामा पनि सुपथ मुल्य पसल संचालन हुने गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले जानकारी दिनुभयो । गाउँपालिकाले सुपथ मुल्य पसल संचालनका लागि चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेको छ । 

हालसम्म गाउँपालिकाका वडा नम्बर १, २ र ४ को लागि गिठाकोटमा, वडा नम्बर ३, ७, ८ र ९ का लागि सिम्लीमा र वडा नम्बर ५ र ६ को लागि देउताखोलामा पसल संचालन भइसकेको र अव वडा नम्बर १० र ११ को लागि अर्मामा पसल संचालन गर्ने तयारी भइरहेको उपाध्यक्ष पुनले बताउनुभयो । 

सुपथ मुल्य पसल सञ्चालनको जिम्मा गाउँपालिकाले सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थालाई दिएको छ भने नियमित अनुगमन तथा मूल्यांकनको काम गाउँपालिकाले गरिरहेको छ । दैनिक उपभोग्य सामग्री खरिद गर्न गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली पुग्नुपर्ने बाध्यतामा रहेका गाउँपालिकावासीहरु गाउँमै सुपथ मुल्य पसल संचालन भएपछि हर्षित भएका छन् । 

समय तथा खर्च बचेकोले गाउँपालिकावासी हर्षित बनेका हुन् । सुपथ मुल्य पसलहरुमा अहिले दैनिक रुपमा मुल्यसुचि राखि उपभोग्य सामग्रीहरु बिक्रि भइरहेको र स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरु समेत खरिद गरी बिक्रि गर्ने योजना अनुसार काम भइरहेको सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update