बारिपोले मेला सुरु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा परम्परागत रुपमा लाग्दै आएको बारिपोले मेला आजबाट सुरु भएको छ । मुसिकोट २ को बारिपोलेमा हरेक वर्षको मंसिर शुक्ल एकादशीमा सुरु भई द्धादशीमा सकिने मेला यो वर्ष आजबाट सुरु भएको हो ।
आज बिहान शिद्ध र देवी साइकुमारीको पुजाआजा गरेपछि विधिवत् रुपमा मेला सुरु भएको स्थानीय रमेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभर पुजाआजा हुने छ भने भोली बिहान मन्दिरमा बोकाको बली दिएपछि मेला सुरु हुन्छ ।
मेला आजबाट सुरु भएपनि मुख्य मेला भोली लाग्छ । एक मन र एक चित्तले मन्दिरमा पुजाआजा तथा बली चढाएमा मनोकामना पुरा हुने धार्मिक विश्वास रही आएको छ । मन्दिरमा पुजाआजा तथा मेला भर्नका लागि विभिन्न ठाउँबाट ठूलो संख्यामा दर्शनार्थीहरु पुग्ने गर्दछन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १५:२९
प्रतिक्रिया दिनुहोस्