रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । शुक्रबार सेरीगाउँ स्थित सहिद प्रतिष्ठानको हलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकामा रहेका सम्पूर्ण सहिद परिवारलाई सम्मान गरेको हो । जनयुद्ध तथा जनआन्दोलनमा सहिद भएकाहरुको सम्मानका लागि उनिहरुका परिवारलाई चिनो सहित खादा लगाएर सम्मान गरिएको थियो ।
राज्य तथा विद्रोही दुवै पक्षबाट मारिएकाहरुका परिवारलाई सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो । हरेक वर्षको सहिद सप्ताह जस्तै यो वर्षको सहिद सप्ताहमा पनि सहिद परिवारलाई सम्मान गरिएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार १४ वटै वडाका ९५ सहिद परिवारलाई सम्मान गरिएको हो ।
कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति देवी ओली, जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा बुढा, मुसीकोट नगरप्रमुख देविलाल गौतम लगायतले सहिद परिवारलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले देशको परिवर्तणका लागि सहिद भएकाहरुको सम्मानका लागि नगरपालिकाले गरेको कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । उपहार सानो भएपनि सहिदको सम्मान र सम्झना भएकाले यसको अर्थ ठूलो भएको उहाँको भनाई छ ।
मुसीकोट नगरप्रमुख गौतमले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशिता आउनका लागि सहिदहरुको योगदान नै प्रमुख कारण भएको बताउनुभयो । देशमा ठूलो परिवर्तण गराउने सहिदको सम्मानका लागि नगरपालिकाले हरेक वर्ष सहिद परिवारलाई सम्मान गरेको प्रमुख गौतमको भनाई छ । ठूलो केही गर्न नसकेपनि सहिद र तिनका परिवार, आफन्तलाई स्थानीय सरकारले सधै सम्मान गरिरहने उहाँले बताउनुभयो ।