Kakhara सबैको खबर सम्पूर्ण खबर
वडाको विकासका लागि मुसिकोट १० का राजनीतिक दल र सराेकारवाला एक ठाउँमा 
सर्वदलिय बैठक ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० का क्रियाशिल राजनीतिक दल र वडास्थित अन्य सराेकारवालहरुले वडाको विकासका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । वडास्थित राजनीतिक दल तथा अन्य सराेकारवालाकाे संयुक्त बैठकमा सहभागि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु र सराेकारवालाले वडाको समग्र विकासका लागि एक ठाउँमा उभिने प्रतिबद्धता जनाएका हुन् । 

आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई प्राथमिकता दिएर वडाको दीगो विकासका लागि भूमिका खेल्ने वडामा क्रियाशिल सबै दलहरुले साझा प्रतिबद्धता जनाएको वडाध्यक्ष धनबहादुर खड्का बसन्तले जानकारी दिनुभयो । वडाको दीगो विकासका लागि मानवीय विकासलाई प्राथमिकतामा राखेर काम गर्न दल तथा सराेकारवालाहरू सहमत भएकाे उहाँले बताउनुभयो । 

वडा कार्यालयले वडाको सर्वांगिण विकासमा राजनीतिक दल र अन्यको भूमिकाका लागि सर्वदलिय र सर्वपक्षिय बैठक आह्वान गरेको र बैठकमा सहभागिहरूले वडाको विकासका लागि एक ठाउँमा उभिने प्रतिबद्धता जनाएको वडाध्यक्ष खड्काको भनाई छ । सरकार मात्रले विकासलाई उचाइमा पुर्याउन सम्भव नभएकोले सबै राजनीतिक दल, टाेलविकास संस्था, विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति, आमा तथा महिला समूह, बन समूह लगायत सबैकाे सहयाेग खोजिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update