Kakhara सबैको खबर सम्पूर्ण खबर
विप्लव समूहको स्वागत सभा

दुई वर्ष भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वागत सभा गरेको छ । रुकुम पश्चिमको सदरमुकाम खलंगा स्थित बाल मन्दिर प्रांगनमा सो पार्टीले स्वागत सभा गरेको हो । जिल्लाका विभिन्न ठाउँबाट आएका नेता कार्यकर्ताले बजार परिक्रमा गरेर स्वागत सभा गरेका थिए । स्वागत सभामा बोल्दै नेताहरुले पार्टी संसदीय व्यवस्थापमा नआएको दावी गरे ।

जवरजस्त आतंककारी बनाएर जंगल धकेलेको सरकार आफैले शान्तिपूर्ण राजनीतिमा आउने वातावरण बनाएको उनिहरुको भनाई थियो । स्वागत सभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले स्वतन्त्र रुपमा राजनीति गर्ने, जनतासँगै बसेर जनताका मुद्दा उठाउन गरेको बन्देज फुकुवा गरेको बताउनुभयो । जनता र जनजिविकाको सन्दर्भ प्रसंग उठाएर जनतासँग लागेको देखेपछि सरकार तर्सेर उल्टै बारबन्देजमा लागेको बुढाले बताउनुभयो ।

अन्तत सरकार आफै शान्तिपूर्ण राजनीतिको वातावरण बनाउनका लागि तयार भएको, झुट्टा मुद्दा लगाएर हिरासत, कारागार राखिएका नेता कार्यकर्तालाई रिहाई गर्न तयार भएको उहाँको भनाई छ । अर्का जिल्ला स्तरीय नेता नरेन्द्र विकले पार्टी खुला राजनीतिमा आएपछि धेरैको टाउको दुखाई बनेको बताउनुभयो । नीति, विधि र पद्दती बेगर आम्दानी गर्न पल्केकाहरु नै जनता र आफ्नो पार्टीदेखि डराइरहेको उहाँको भनाई छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update