रुकुम पूर्वमा व्यक्ति र संस्थाको आर्थिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आइतबार देखि मंगलबार सम्म तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो । सिस्ने गाउँपालिका–५ निबासी गोपालबहादुर शाही र एकएक पाइला संस्थाको आर्थिक सहयोग, सिस्ने गाउँपालिका र रुकुम पूर्व अस्पतालको समन्वयमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
आइतबार पहिलो दिन तीन सय ११ जना र सोमबार दोस्रो दिन पाँच सय ६३ जना गरी आठ सय ७४ जनाले शिविरबाट उपचार गर्नु भएको शिविरका सहजकर्ता मदन शाहले कखरालाई जानकारी दिनुभयो । आज मंगलबार अन्तिम दिन पनि शिविर जारी रहेको छ । अन्तिम दिनमा पनि हाल शिविरबाट उपचारका लागि मान्छेको लाइन रहेको शाहले कखरासँग बताउनुभयो ।
विकट क्षेत्र खास गरी सरकारको नजर नलागेको यस जिल्लाबासीलाई सामान्य उपचार बाहेक राम्रो स्वास्थ्य सेवा पाउन शिविर कुर्नुपर्ने बाध्यता रहेको शाहले बताउनुभयो । जिल्लामा विशेषज्ञ डाक्टर अभावले यहाँका बासिन्दालाई शिविर कुर्नुपर्ने बाहेक अरु विकल्प नरहेएको शाहको भनाइ रहेको छ ।
आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई मध्येनजर गरेर आइतबार देखि मङ्गलबार सम्म जिल्ला सदरमुकाम रहेको रुकुमकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरबाट मोतियाविन्दुको शल्यक्रिया, कानको शल्यक्रिया, छाला, कलेजो, छाती तथा फोक्सो, स्त्री तथा प्रसुति, दन्त, बाल, नाक, कान, घाँटी, हाडजोर्नी, प्याथोलोजी, भिडियो एक्सरे, सामान्य उपचार, चेकजाँच, औषधि वितरण, चस्मा जाँच तथा वितरण लगायत सेवा प्रदान गरिराखिएको आयोजकले आयोजकले जनाएको छ ।
शिविरमा कानको शल्यक्रिया, मोतियाबिन्दुको शल्यक्रिया र भिडियो एक्सरे गर्नेहरू धेरै रहेका छन् ।