Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एमालेका नन्दराम देवकोटाको चुनाव खर्च झण्डै १० लाख 
हालसम्म चुनाव खर्च बुझाउने र उनिहरूकाे खर्चकाे विवरण ।

रुकुम पश्चिममा मंसिर ४ को निर्वाचन लडेका उम्मेदवारहरुले चुनाव खर्च विवरण बुझाउन सुरु गरेका छन् । आजसम्म दुई वटा पार्टीका ३ जना उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छन् । 

खर्च विवरण बुझाउनेमा राप्रपाबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार निर्जल केसी र नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटा तथा एमालेका प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नरायणकुमार शाह रहनुभएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटाको चुनाव खर्च झण्डै १० लाख देखिएको छ । जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको खर्च विवरणमा देवकोटाले चुनावमा ९ लाख ८९ हजार ४ सय ५५ रुपैंया खर्च गरेको देखिएको छ । 

त्यस्तै एमाले प्रदेश सभा १ का उम्मेदवार नारायणकुमार शाहको चुनाव खर्च ८ लाख ५२ हजार २ सय ५५ रहेको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ । प्रदेश सभा २ मा चुनाव लडेका राप्रपाका निर्जल केसीले १ लाख ३२ हजार ७ सय रुपैंया खर्च गर्नुभएको छ । 

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्नेमा अहिलेसम्म ३ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा १२ जना चुनाव लडेका थिए । 

जसमा ६ जना प्रतिनिधि सभा तर्फ र ६ जना प्रदेश सभा तर्फका रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।। 
 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update