रुकुम पश्चिमका दुई ठूला पार्टी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस रुकुम पश्चिमले दुई पार्टीका विचमा देखिएका समस्या स्थानीय स्तरमै पुगेर हल गर्ने भएका छन् । आज बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस कार्यदलको प्रथम बैठकले दुई पार्टीका विचमा देखिएका समस्या स्थानीय स्तरमै पुगेर हल गर्ने निर्णय गरेको छ ।
बैठकले विभिन्न घटनाहरुको समस्या सम्बन्धमा दुवै पार्टीलाई प्रभावित गर्नेगरी विभिन्न स्थान र समयमा भएका घटना र ति संग सम्बन्धित मुद्धाहरुको विवरण संकलन गरी प्राथमिकताका आधारमा सम्बन्धित तहमा पुगेर समस्या समाधान गर्न आजै देखि पहल गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर ओली सटरमानले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले स्थानीय स्तरमा देखिएका समस्या हलका लागि कार्यतालिका पनि बनाएको छ । बैठकको निर्णय अनुसार सबैभन्दा पहिला आठबीसकोट नगरपालिका, त्यसपछि चौरजहारी नगरपालिका हुँदै त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा दुवै दल सम्मिलित टोली पुग्ने छन् ।
जिल्लामा विगत द्धन्द काल देखि नै माओवादी र कांग्रेसको सम्बन्ध हार्दिकतापूर्ण छैन् । शान्ति स्थापना भएको लामो समय भइसक्दा पनि दुई दलका कार्यकर्ता स्तरमा मनमुटाव बाँकी नै रहेको र विभिन्न कालण्डमा धेरै मुद्दाहरु उठेकोले उक्त सबै समस्यालाई अव जरैबाट हल गर्ने गरी प्रयास सुरु भएको माओवादी केन्द्रका नेता तथा पार्टीका केन्द्रीय सदस्य गोपाल शर्माले बताउनुभयो ।
धेरैले गठबन्धन चुनावका लागि मात्र हो भनेर बुझेको भएपनि आफुहरुले जिल्लाको समग्र विकासका लागि गठबन्धन गरेको बताउँदै उहाँले गठबन्धनलाई दीगो बनाउने अभियान अन्तर्गत नै दुई पार्टीका विचमा देखिएका समस्या पालिकास्तरमै पुगेर हल गर्ने निर्णय भएको बताउनुभयो । त्यस्तै बैठकले कार्यदलको बैठक नियमित बस्ने र उक्त बैठकको अध्यक्षता दुवै पार्टीका सदस्यले आलोपालो प्रणालीमा गर्ने सहमति भएको छ ।
आजको पहिलो बैठकको अध्यक्षता नेकपा माओवादी केन्द्रका टेकबहादुर ओली सटरमानले गर्नुभएको थियो । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, कांग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्रीको आमन्त्रित सदस्यका रुपमा सहभागिता रहेको थियो ।
त्यस्तै बैठकमा नेपाली कांग्रेसका परमेश्वर भण्डारी, तारकबहादुर शाही, नेकपा माओवादी केन्द्रका मनिराज बटाला, एक्कबहादुर पाण्डे र नेपाली कांग्रेसका रत्नबहादुर खड्काको उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गत कार्तिक १८ गतेको बैठकले दुई दलको कार्यदल गठन गरेको थियो ।