Kakhara सबैको खबर सम्पूर्ण खबर
मारिङ सहकारीको पाँचौ वार्षिक साधारण सभा उद्घाटन 

रुकुम पूर्व भूमे गाउँपालिका–२ खाबाङ बगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा उद्घाटन गरिएको छ । सोमबार भूमे–२ स्थित गाउँपालिकाको सभा हलमा मारिङ सहकारी संस्था लिमिटेडको पाँचौ साधारण सभा उद्घाटन गरिएको हो । 


सहकारीको साधारण सभा कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले सहकारीलाई हाल धेरै चुनौती रहे पनि भविष्यमा सहकारीलाई फस्टाउँदै लगेमा सहकारीको राम्रो भविष्य रहेको बताउनुभयो । हाल सम्म जिल्लामै मात्र नभई प्रदेशमै मारिङ सहकारीले राम्रो छवी बनाएको उल्लेख गर्दै समन्वय प्रमुख श्रेष्ठले सहकारीका सञ्चालक समिति र सहकारीका कर्मचारी थप क्रियाशील भएर लाग्नु पर्नेमा जोड दिनुभयो । दीर्घकालिन तथा प्रतिफल आइराख्ने किसिमका योजनाका साथ सहकारी अघि बढ्न सकेमा सहकारीले स्थानीय नागरिकको आर्र्यआर्जनमा राम्रो सघाउ पग्ने श्रेष्ठले बताउनुभयो । 

यसैगरी जिल्ला सहकरी संघका अध्यक्ष वशन्तकुमार श्रेष्ठले हरेक सहकारीका सेयर तथा साधारण सदस्यले आफ्नो सकारात्मक आनीबानी साथसाथै लवाईखुवाईलाई व्यवस्थित गर्दै गए मात्र पनि उक्त घरपरिवारको आर्थिक अवस्था सुधार हुँदै जाने बताउनुभयो । पैसालाई मात्र बचत गर्नेमा मात्र ध्यान नदिई दैनिक उपभोगी वस्तुलाई ध्यानमा राखेर घरपरिवार, टोल–टोल, गाउँ–गाउँ हुँदै समाज नै आर्थिक रुपान्तरण हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

स–साना पुँजीलाई सहकारी मार्फत लगानी गर्दै जानु पर्नेमा भूमे गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । आजको सानो लगानी नै भोलिको ठूलो तथा प्रतिफलमुखी लगानीको रुपमा विकास हुने बुढा मगरले बताउनुभयो । ‘सबैको आर्थिक अवस्था सुधार गर्नका लागि कुनै एक व्यक्ति मात्र लागि परे मात्र हुँदै’ बुढा मगरले भन्नुभयो ‘समाजका रहेक नागरिकको आर्थिक अवस्था सुधार ल्याउनका लागि सामूहित अर्थात सहकारीमा लगानी मार्फत मात्र सबैको आर्थिक अवस्था समान हुने छ ।’


सहकारीमा परिचालित हरेक व्यक्ति सक्षम भएर लागि परिराखेमा मात्र सहकारी बलियो हुँदै जाने भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो । मुख्य गरी सहकारी मार्फत स्थानीय अर्थतन्त्रलाई परिचालन गरी स्थानीयको आर्थिक अवस्था बलियो बनाउनु उद्देश्य रहेको श्रेष्ठले बताउनुभयो । स्थानीय कृषि उत्पादनलाई परिचालन मार्फत स्थानीयको आयआर्जनलाई प्रोत्साहन दिनु रहेको उहाँले बताउनुभयो । त्यसको लागि गाउँपालिकाको तर्फबाट हुन सक्ने सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने श्रेष्ठले बताउनुभयो । 

सहकारीका अध्यक्ष देवबहादुर बुढा मगरको अध्यक्षमा साधारण सभा कार्यक्रमको उद्घाटन गरिएको हो । प्रमुख अतिथिमा जिसस प्रमुख मेघबहादुर श्रेष्ठ, विशेष अतिथिमा सहकारी संघका जिल्ला अध्यक्ष वशन्तकुमार श्रेष्ठ, निवर्तमान भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको रहेको थियो । सहकारीका करिब ८० जना साधारण सदस्यको उपस्थिति रहेको उक्त साधारण सभा उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष नमिता पुन मगरले गर्नु भएकोमा कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले गर्नु भएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update