Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै पालिकामा कृषि मेला प्रदर्शनी हुँदै 
मुसिकाेट नगरपालिका १० झ्याङ गाउँकाे एक सुन्तला बगैचामा फलेका सुन्तला ।

रुकुम पश्चिमका सबै पालिकामा कृषि मेला प्रदर्शनी हुने भएको छ । कृषि विकास कार्यालयले जिल्लाका सबै स्थानीय तहमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो । कृषकले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गर्ने र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गरी कृषि मेला प्रदर्शनी आयोजना गरिएको कृषि विकास कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार पौष २ र ३ गते त्रिवेणी गाउँपालिका र पौष ५ र ६ गते मुसिकोट नगरपालिकामा कृषि मेला प्रदर्शनी हुने छ । त्रिवेणीको वडा नम्बर २ सिम्रुतुमा रहेको सहिद प्रतिष्ठान भवन र मुसिकोटको वडा नम्बर १ खलंगा बालमन्दिरका कृषि मेला प्रदर्शनी हुने छ । सानीभेरी गाउँपालिकामा पौष ७ र ८, चौरजहारी नगरपालिकामा पौष ११ र १२, बाँफिकोट गाउँपालिकामा पौष १३ र १४ तथा आठबीसकोट नगरपालिका पौष १७ र १८ गते हुने कृषि विकास कार्यालयका प्राविधिक सहायक महेश चन्दले जानकारी दिनुभयो । 

सानीभेरीको वडा नम्बर ९ को सहिद स्मृति भवन सिम्ली, चौरजहारीको चौरजहारी बजार, बाँफिकोटको वडा नम्बर ४ छिन्खेत बजार र आठबीसकोटको वडा नम्बर ९ राडीमा कृषि मेला प्रदर्शनी हुने उहाँले बताउनुभयो । आफ्नो पालिकामा हुने कृषि मेला प्रदर्शनीमा आफुले उत्पादन गरेका कृषि उपजहरु ल्याउन कृषि विकास कार्यालयले जिल्लाका सबै कृषकहरुलाई अनुरोध गरेको छ । 

कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीमा धान, मकै, गँहु, कोदो, दलहन बालीमा मास, भटमास, सिमी, बोडिको बोट भए बोट सहित र दाना भए १ किलो ल्याउन कार्यालयले भनेको छ । त्यस्तै  तरकारी बालीमा काउली, बन्दा, फर्सी, काँक्रा, टमाटर बोट सहित, फलफुल बालीमा सुन्तला, कागती, जुनार, अमिलो झुप्पा सहितकोे हाँगा, मसला तथा नगदे बाली अलैँची, बेसार, अदुवा, उखु, कफिको बोट  सहित र मौरीको चाका र च्याउका डल्ला सहित कृषि प्रर्दशनी मेलामा ल्याउनुपर्ने कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले बताउनुभयो ।   

उहाँका अुनसार कृषि मेला प्रदर्शनीमा किसानले ल्याएका कृषि उपजलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई छनौट गरिने छ । पहिलो हुनेलाई २ हजार, दोस्रो हनेलाई १ हजार ५ सय, तेस्रो हुनेलाई १ हजार र सान्त्वना हुनेलाई ७ सय पुरस्कारको व्यवस्था गरिएको केसीले बताउनुभयो । कृषि मेला प्रदर्शनीका लागि सबै पालिकामा १÷१ लाखका दरले कुल ६ लाख खर्च हुने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update