रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा रहेको एउटै पसलबाट ठूलो मात्रामा म्याद गुज्रिएका सामग्री जफत गरिएको छ । सोलाबाङको दुर्गा इन्टरप्राइजेजबाट मुसिकोट नगरपालिकाले ३ लाख १७ हजार ३८ रुपैंया बराबरका म्याद गुज्रिएका सामग्री जफत गरेको हो ।
बजार अनुगमणका क्रममा गत कार्तिक ४ गते सिल गरिएका म्याद गुज्रिएका सामानहरु मंगलबार बजार व्यवस्थापन समितिका अध्यक्ष शंकरकुमार शर्मा लगायतको रोहबरमा मुसिकोट नगरपालिकाले बरामद गरेको हो । उक्त सामग्री नष्ट गर्न बरामद गरी ल्याएको नगर प्रहरी प्रमुख उमेश केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार म्याद गुज्रिएका सामग्रीमा सबैभन्दा बढी विभिन्न कम्पनीका पेय पदार्थ रहेका छन् । जसमा कोक, म्यांगो जुस, लिचि जुस, ट्यांगो जुस लगायत रहेको केसीले बताउनुभयो । दालमोठ चना फ्राई पनि बरामद गरिएको उहाँको भनाई छ ।
नगरपालिकाले विभिन्न समयमा नगर भित्रका बजार अनुगमण गर्ने र म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गर्ने गरेकामा पहिलो पटक यति ठूलो परिमाणमा म्याद गुज्रिएका सामग्री बरामद गरेको हो । उक्त सामग्री आज मुसिकोट नगरपालिका २ मा रहेको डम्पिङ साइटमा लिएर नष्ट गरिने नगर प्रहरी प्रमुख केसीले बताउनुभयो ।