Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ११ का जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा
जेष्ठ नागरिकलाई फलफूल र भिटामिन दिँदै वडाध्यक्ष भुपालसिंह ओली ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ ले जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा दिन थालेको छ । वडा कार्यालय र अर्मा स्वास्थ्य चौकीले संयुक्त रुपमा घर घरमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिन थालेका हुन् । २६ गते देखि घर घरै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण जारी छ । जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सहित फलफूल समेत वितरण गरिरहेको अर्मा स्वास्थ्य चौकीका अहेव बिनोदकुमार खड्काले जानकारी दिनुभयो । त्यस्तै भिटामिन समेत बाँढ्ने गरिएको छ । 

खड्काका अनुसार हालसम्म साविकको अर्मा गाविस वडा नम्बर ५, ६, ७, र ९ नम्बर वडाका ७५ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै भिटामिनको बोतल र एक एक किलो सुन्तला वितरण गरिएको छ । स्वास्थ्य जाँच संगै आवश्यकता अनुसारको औषधि समेत वितरण भइरहेको अहेव खड्काले बताउनुभयो । साथै जेष्ठ नागरिकको तौल समेत लिने गरिएको छ ।  

आज अन्तिम दिन साविकको ८ नम्बर वडाका विभिन्न्न टोलमा सेवा दिने बताइएको छ । तत्कालको लागि वडाबाट बजेट नछुटयाए पनि सेवा दिँदा लागेको खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने वडा अध्यक्ष भुपालसिंह ओली बताउनुभयो । जेष्ठ नागरिकलार्ई निःशुल्क स्वास्थ्य सेवा दिन वडाध्यक्ष सहित स्वास्थ्य चौकी अर्माका प्रमुख नरबहादुर ओली, अहेव विनोदकुमार खड्का, अनमी निर्मला खड्का, जयकुमारी खड्का, वडा सदस्य ललिता ओली खड्का, नरु ओली लगाएतको टिम खटिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update