मुसिकोट नगरपालिका वडा नम्बर १० का झुपलाल खड्का बारीमा फलेको सुन्तला देखेर मख्ख हुनुहुन्छ । बोटले नै धान्न नसक्ने गरी सुन्तला फलेको छ । साना बोट तर लटरम्म फलले भुइँ छोएका हाँगालाई छुट्टै काठले अडेस दिनुपरेको छ । कति हाँगा त सुन्तलाको भार थेग्न नसकेर भाँचिएका पनि छन् । ७० वर्षिय खड्का अन्य वर्षको तुलनामा यो वर्ष धेरै सुन्तला फलेको बताउनुहुन्छ । यो पटक त अच्चमै राम्रो सुन्तला फलेको छ, सुन्तला बारीमा भेटिएका खड्काले भन्नुभयो । खड्काको झ्याङस्थित सुन्तला बारीमा करिब १ सय वटा सुन्तलाका बोट छन् । सबै बोट लटरम्म छन् । विगत ६ वर्षदेखि सुन्तला खेति गरिरहुनभएका खड्काले यो वर्ष धेरै सुन्तला फलेको बताउनुभयो । ‘विगतका वर्षको तुलनामा यो वर्ष धेरै सुन्तला फलेको छ, बोटले नै धान्न धौ धौ भएको छ, उहाँले भन्नुभयो ।’
सोही वडाकै एक्कबहादुर खड्काले पनि यो वर्ष सुन्तला उत्पादन बढेको बताउनुभयो । रोग, किरा नलगेको र अनुकुल मौसमका कारण अन्य वर्षको तुलनामा धेरै सुन्तला फलेको खड्का बताउनुहुन्छ । मुसिकोट १० सुन्तला उत्पादनका हिशावले उपयुक्त छ । वडाका विभिन्न ठाउँमा सुन्तला लगायतका फलफूल राम्रो उत्पादन हुने गरेको छ ।
तर बजारको चिन्ता
झुपलाल खड्काले सुन्तला बिक्रि सुरु गर्नुभएको छैन् । उहाँलाई कहाँ लगेर कसरी वेच्ने भनेर चिन्ता बढेको छ । सुन्तला फलेको ठाउँसम्म सडक पुगेको छैन् । कसरी बजारसम्म लैजाने भनेर आफु चिन्तित रहेको उहाँले बताउनुभयो । राम्रो सुन्तला फलेपनि बजार र मुल्य नपाइने चिन्ता रहेको उहाँको भनाई छ । ‘कोही व्यापारी आए एकैपटक सबै सुन्तला बिक्रि गर्ने थिएँ, आफुले सकेसम्म प्रयास गरिरहेको छु, तर कोही व्यापारी आएका छैनन्, उहाँले भन्नुभयो ।’ सुन्तला बिक्रि नहुँदा चोरले समेत सताउन थालेको खड्काले बताउनुभयो ।
मुसिकोट १० कै कृषक केशव रोकायले पनि फाट्टफुट्ट सुन्तला बिक्रि भएपनि सुन्तलाले बजार पाउन नसकेको बताउनुभयो । एकैपटक सबै सुन्तला बिक्रि गर्ने अवस्था भयो भने सहज हुन्थ्यो भन्ने उहाँलाई लागेको छ । एक एक वटा र पटक पटक गरेर सुन्तला बिक्रि गर्दा झन्झट हुनुका साथै मुल्य समेत नपर्ने उहाँको गुनासो छ । स्थानीय सरकारले बजारको ग्यारेन्टी गरेमा सुन्तला उत्पादन थप बढ्ने र किसानको जीवन स्तरमा सुधार आउने उहाँको विश्वास छ ।
सुन्तला मात्र होइन सबै कृषि उपजको बजार सुनिश्चित गर्छौंः वडाध्यक्ष खड्का
मुसिकोट नगरपालिका वडा नम्बर १० कृषि खेतिका लागि उपयुक्त छ । यहाँ लसुन, अदुवा, अलैंचि, सुन्तला लगायतका कृषि उपजहरु राम्रो उत्पादन हुन्छन् । वडाले कृषिमा व्यवसायिकता बढाउनका लागि काम गरिरहेको जनाएको छ । बीउ, मल, बिरुवा लगायतमा वडाले सहुलियत दिइरहेको र यसले परम्परागत कृषि प्रणाली विस्तारै व्यवसायिक बन्दै गएको वडाध्यक्ष धनबहादुर खड्का बसन्तले बताउनुभयो । ‘हामीले उत्पादन बढाउने मात्र भनेका छैनौं, सम्पूर्ण उत्पादित वस्तुको बजार र मुल्य सुनिश्चित गर्ने भनेका छौं, उहाँले भन्नुभयो–सोही अनुसार वडाले काम गरिहेको छ ।’
वडामा उत्पादित सबै कृषि उपजको बजार वडाले खोजिरहेको उहाँले बताउनुभयो । स्थानीय तह बन्नु पूर्व किसानहरुले परम्परागत रुपमा खेति गर्दै आएको र उत्पादन भएको वस्तु बजारसम्म पुग्न नसकेको अवस्थामा अहिले भने किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुग्न थालेको उहाँको भनाई छ । ‘हामीले लसुन लिन गाउँमै व्यापारी बोलाएका छौं, अदुवा गाउँबाटै बिकेको छ, अलैंचिको अवस्था त्यस्तै छ, सुन्तलाका लागि पनि पहल गरिरहेका छौं, तर के सत्य हो भने एकैपटक सबै नहुने रैछ हामी क्रमिक लागिरहेका छौं, उहाँले भन्नुभयो ।’