Kakhara सबैको खबर सम्पूर्ण खबर
प्याब्सन रुकुम पश्चिमको आठौं साधारण सभा मुसिकोटमा सम्पन्न 
साधारण सभाकाे उद्घाटन गर्दै मुसिकाेट नगर प्रमुख महेन्द्र केसी ।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुकुम पश्चिमको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज मुसिकोट खलंगामा भएको साधारण सभाले प्याब्सन रुकुम पश्चिमको वार्षिक प्रतिवेदन पास गरेको छ भने विभिन्न निर्णय गरेको छ । 

प्याब्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्माले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन साधारण सभाले पास गरेको हो । उक्त प्रतिवेदनमा प्याब्सनमा आवद्ध विद्यालय, विद्यार्थी तथा शिक्षक कर्मचारी संख्या, कुल लागत, प्याब्सनले स्थापना काल देखि हालसम्म गरेका काम, भोग्नु परेका समस्या र कोभिडले पारेको प्रभाव लगायतका विषय समावेश गरिएको थियो । 

त्यस्तै साधारण सभाले आगामी दिनमा गर्ने नयाँ कार्यक्रमका बारेमा समेत छलफल गर्दै विभिन्न निर्णयहरु गरेको छ । शिक्षकहरुको क्षमता विकास, विद्यार्थीको प्रतिभा पहिचान, निजी विद्यालयहरुप्रति भइरहेको विभेद न्युनिकरणका लागि स्थानीय सरकारसंग माग गर्ने लगायतका निर्णय साधारणसभाले पारित गरेको जिल्ला अध्यक्ष विमलकुमार शर्माले जानकारी दिनुभयो । 

साधारण सभाको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो । प्याब्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका कर्णाली प्रदेश अध्यक्ष खडक कँवर, शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुन, प्याब्सनका केन्द्रीय सदस्य जयबहादुर थापा, जाजरकोट अध्यक्ष नरबहादुर खड्का, मुसिकोट शिक्षा शाखा प्रमुख नरेन्द्र ओली लगायतको आतिथ्यता रहेको थियो । 

प्याब्सनका जिल्ला उपाध्यक्ष हरिभक्त भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव डिलबहादुर नाथले गर्नुभएको थियो । उद्घाटन समारोहमा विद्यार्थीको तर्फबाट सिस्ने एकेडेमीका हेमन्त ओलीले आफ्ना कुरा राख्नुभएको थियो भने न्यु मुन लाइट बोर्डिङ स्कुलले स्वागत गित राखेको थियो । त्यस्तै सिस्ने एकेडेमी, सानीभेरी बोर्डिङ र विजयश्वरी बोर्डिङ स्कुलका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति राखेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update