रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले ५ महिनाको अवधिमा झण्डै ३० लाख राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को साउन १ गते देखि मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा गाउँपालिकाले २९ लाख ९२ हजार २ सय २३ रुपैँया राजस्व संकलन गरेको हो । यस अवधिमा सबै भन्दा बढि ९ लाख १६ हजार ५५ रपैँया राजस्व गाउँपालिकाको कार्यालयबाट संकलन भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै १० वटा वडा रहेको यो गाउँपालिकामा सबैभन्दा बढि २ लाख ४ हजार ६ सय २९ रुपैँया राजस्व संकलन गरेर वडा नम्बर २ पहिलोे बनेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ महिनाको अवधिमा सबै भन्दा कम राजस्व संकलन गर्ने वडा नम्बर ८ ले ७६ हजार ४ सय ७४ रुपैँया मात्र राजस्व उठाएको छ । वडा नम्बर १ ले १ लाख ९ हजार ९ सय ३२, वडा नम्बर ३ ले १ लाख ३५ हजार ४ सय ६५, वडा नम्बर ४ ले १ लाख ८८ हजार ३ सय ४३ र वडा नम्बर ५ ले ९४ हजार ६ सय ४२ रुपैँया राजस्व उठाएको छ ।
त्यस्तै वडा नम्बर ६ ले १ लाख ३५ हजार १ सय ४५, वडा नम्बर ७ ले १ लाख २९ हजार ७२, वडा नम्बर ९ ले १ लाख ३२ हजार ३ सय ३२ र वडा १० ले १ लाख ५३ हजार १८ रुपैँया राजस्व उठाएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो । त्यस्तै अन्य स्रोतहरु सिम्रुतु स्वास्थ्य चौकीबाट २७ हजार २ सय, गाउँपालिका अस्पतालबाट ४७ हजार ८ सय ८५, पशु शाखाबाट २९ हजार ९ सय ७५, कृषि शाखाबाट १२ हजार १ सय ५० र कर संकलन केन्द्रबाट ४ लाख ८ सय ८५ रुपैँया संकलन भएको उहाँको भनाई छ ।
युद्ध संग्रालयबाट ४६ हजार ६ सय २५, एम्बुलेन्सबाट ८६ हजार ८ सय र शिक्षा शाखाबाट ४ हजार ६ सय रुपैँया समेत राजस्व संकलन भएको बताइएको छ । गाउँपालिकाले ४ महिनामा लक्षको २९.९२ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले १ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।