Kakhara सबैको खबर सम्पूर्ण खबर
कामदारले डेढवर्ष सम्म पनि ज्याला पाएनन्
जामाखोला विद्युत आयोजनाको ट्रान्सफर्भर र विद्युत लाइन वितरण गरिएको ठाउँ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ८ मा रहेको जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका कामदारले डेढ वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् । आयोजनामा काम गरेका ९० जना मजदुरहरुले १८ महिनासम्म ज्याला नपाएको गुनासो गरेका हुन् । आयोजनामा पहिरोले क्षेति गरेपछि त्यसको मर्मतमा काम गरेका कामदारले ज्याला नपाएको बताएका छन् । क्षेतिग्रस्त आयोजनाको मर्मतका लागि प्रतिनिधि सभा सदस्य कमला रोकाको पूर्वाधार क्षेत्र विकास कार्यक्रमको ४० लाख बजेटबाट पुनःनिर्माणको काम गत वर्षको जेठ महिनामा सुरु भएको थियो ।

क्षतिग्रस्त आयोजना मर्मत गरी विद्युत बलि सक्दा पनि कामको ज्याला नपाउँदा मजदुरहरु आक्रोशित बनेका छन् । उपभोक्ता समिति, वडा कार्यालय र गाउँपालिकालाई आफुहरुले काम गरेको ज्याला नपाएको धेरै पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले अहिलेसम्म वास्ता नगरेको वडा नं. ८ का नरिभान सार्कीले बताउनुभयो ।गाउँमै पाएको रोजगारीले घर चलाउला भन्ने आशाले १९ दिन काम गरेको ज्याला नपाएको उहाँको भनाई छ । लामो समयसम्म काम गरेको ज्याला नपाउँदा आफुहरुको दुःख बालुवामा पानी खन्याय जस्तै भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

जामाखोला लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले भने आयोजना घाटामा गएका कारण कामदारलाई ज्याला दिन नसकिएको बताउनुभयो । प्राविधिकले तयार पारेको स्टामेट गलत भएका कारण आयोजना घाटामा गएको उहाँको भनाई छ । उता गाउँपालिका अध्यक्ष कुमारी बरालले भने मजदुरले काम गरेको ज्यालाका लागि ताकेता गर्ने बताउनुभयो । उपभोक्ता समितिले प्राविधिक स्टामेटका कारण आयोजना घाटामा भयो भन्नु गलत रहेको बताउनुभयो । के भएको हो यसबारेमा बुझेर कामदारलाई ज्याला दिलाउन पहल गर्ने गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update