रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको खुला ठाउँ यही बराहटाकुरा टुँडिखेल मात्र हो । अक्लो डाँडामा खचाखच संरचनाले भरिएको खलंगा बजारमा प्रयाप्त खुला ठाउँ छैन् । बजारको विचमा रहेको सहिद मैदान अतिक्रमणको चेपुवामा परेर सकिनै लागेको छ । बराटाकुरा टुँडिखेलले नै धानेको छ राजनीतिक दलका ठूला आमसभा, मेला महोत्सव देखि खेलकुदका कार्यक्रमहरु । तर यही टुँडिखेल संरक्षणको अभावमा संकटमा रहेको छ । वरिपरि तारबार गरेर संरक्षणको प्रयास गरिएपनि उक्त तारबार लथालिंग अवस्थामा छ । एक साइटबाट पहिरोले सताइरहेको छ । उक्त पहिरो रोकथामका लागि कोही कसैको ध्यान गएको छैन् । टुँडिखेलको केही भाग सडकमा पनि प्रयोग भएको छ । यसले झन टुँडिखेलको आकारलाई घटाएको छ ।
चारैतिरबाट संकटमा रहेको यो टुँडिखेल पछिल्लो समय खलंगा बजारको ढलले थप कुरुप बनेको छ । खलंगा बजारबाट निस्किएको ढल अहिले सिधै टुँडिखेलमा गएर जम्मा हुन थालेको छ । यसले दुर्घन्ध फैलिनुका साथै टुँडिखेललाई फोहरको खाल बनाउदै लगेको छ । खलंगा बजारको ढल टुँडिखेलमै लिएर छाडिएको छ । त्यसको उचित व्यवस्थापनका लागि काम भएको छैन् । अहिले उक्त ढल बुझिएर प्याराफिट हुँदै टुँडिखेलमा झरिरहेको छ । तर यसप्रति कसैको ध्यान गएको छैन् । यसलाई लिएर सरकारको आलोचना भइरहेको छ । विशाल बिष्टले सामाजिक सञ्जाल फेसबुकमा यो भन्दा ठूलो लाज के हुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ । टुँडिखेलमा अभ्यास गर्ने खेलाडी तथा अन्य स्थानीयले समेत ढललाई टुँडिखेलमा छिर्नबाट रोक्नुपर्ने बताएका छन् । नगर सरकारले यसमा ध्यान नदिएको उनिहरुको गुनासो छ ।
दीर्घकालिन व्यवस्थापनको प्रयास भइरहेको छः नगर प्रमुख केसी
मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले ढल व्यवस्थापनको दीर्घकालिन प्रयास भइरहेको बताउनुभएको छ । यसअघि खलंगा बजारको बाटोलाई व्यवस्थित बनाउने क्रममा ढल निकास टुँडिखेलसम्म मात्र भएकोले अहिले समस्या भइरहेको बताउँदै अब त्यसलाई व्यवस्थापन गर्ने गरी नगरपालिका लागि परेको उहाँले बताउनुभयो । यसका लागि शहरी पूर्वाधार विकास कार्यालय सुर्खेतसंग कुरा भइरहेको उहाँले बताउनुभयो । कार्यालयले सकारात्मक कुरा गरेको र अव टँडिखेलसम्म मात्र भएको ढल निकासलाई त्यो भन्दा तल रहेको खोलासम्म लिने गरि प्रयास भइरहेको नगर प्रमुख केसीको भनाई छ ।
अहिले तत्कालको समस्या हल गर्नका लागि भने नगरपालिकाले राखेका सफाइकर्मीहरुलाई प्रयोग गर्ने उहाँले बताउनुभयो । ‘मैले यो समस्याका बारेमा बल्ल थाहा पाएँ, अव वडालाई भनेर बजारमा खटिएका सफाइकर्मीलाई प्रयोग गरेर अव्यवस्थित ढलाई व्यवस्थित गर्न भन्छु, उहाँले भन्नुभयो ।’