Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन बुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्छः केन्द्रीय सदस्य बुढा
केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाले तत्कालिन सरकार र नेकपाका विचमा भएको तीन बुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । नेकपा रुकुम पश्चिमले मुसिकोट खलंगामा आज आयोजना गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्रका विरुद्ध आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

तीन बुँदे सहमति निकै महत्वपूर्ण भएकोले कुनै पार्टी विशेषका लागि मात्र नभई सम्पूर्ण राजनीतिक शक्तिका लागि पूर्ण कार्यान्वयन हुनुको विकल्प नभएको उहाँले बताउनुभयो । सहमतिको पहिलो बुँदामा सबै समस्याको हल राजनीतिक सहमतिका माध्यमबाट गरिने छ भनिएकोले अहिलेको अवस्थामा राजनीतिक सहकार्य र सहमति भन्दा बाहिर गएर जान सकिने अवस्था नभएकोले यो सहमति निकै महत्वपूर्ण भएको उहाँको भनाई छ । 

नेकपाका लागि मात्र नभएर भोलीका दिनमा सबै दल र शक्तिका लागि यो सहमति उपयुक्त हुने उहाँले दाबी गर्नुभयो । साथै उहाँले २०७७ फागुन २१ गते भएको सहमति कार्यान्वयनका लागि ल्याइएको अध्यादेश तत्कालै पास हुनुपर्ने र कार्यान्वयनमा आउनुपर्ने बताउनुभयो । ‘कि त दलहरुले तीन बुँदे सहमति गलत छ भन्नुपर्यो होइन भने अध्यादेश तत्कालै पास गरी कार्यान्वनयमा ल्याउनुपर्यो, उहाँले भन्नुभयो ।’ 

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राजनीतिक मुद्दाका नाममा गम्भिर फौजदारी अभियोग लागेका व्यक्तिहरुलाई उन्मुक्ति दिन नहुने धारणा राखेका थिए । विशुद्ध राजनीतिक मुद्दामा हिरासतमा रहेका व्यक्तिहरुलाई अध्यादेशका माध्यमबाट रिहा गर्ने कुरा राम्रो भएपनि गम्भिर फौजदारी मुद्धामा जेल जीवन विताइरहेका व्यक्तिहरुलाई पनि अध्यादेशकै नाममा उन्मुक्ति दिने सवालमा सचेत रहनुपर्ने वक्ताहरुको भनाई थियो । 

साथै बक्ताहरुले गलत समयमा अध्यादेश ल्याइएकोले संशय पैदा भएको बताएका छन् । नेपाली कांग्रेसका जिल्ला सह सचिव यज्ञ बिष्टले आफ्नै पार्टी नेतृत्वको सरकारले अध्यादेश ल्याएकोले आफ्नो पार्टी अध्यादेशको पक्षमा रहेको बताउनुभयो । तर सरकारमा हुँदा र बाहिर हुँदा दलको चरित्र फरक हुँदा समस्या भइरहेको उहाँको भनाइ थियो । 

त्यस्तै नेकपा एमालेका जिल्ला सह सचिव रचना मल्लले गम्भिर प्रकृतिको अभियोग लागेका व्यक्तिलाई पनि राजनीतिक मुद्धामा राखेर उन्मुक्ति दिनु हुन्न पक्षमा आफ्नो पार्टी भएको बताउनुभयो । यसप्रति नेकपा पनि सचेत हुनेपर्ने सुझाव उहाँले दिनुभयो ।  

अन्तरक्रिया कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य रमेश मल्ल, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उप प्राध्यापक हरिबिष्णु ओली, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेगराज खड्का, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेलले पनि सम्बोधन गर्नुभएको थियो ।

नेकपा रुकुम पश्चिमका सेक्रेटरी भाष्कर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला संयोजक धनु ओलीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हरि पुनले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update