Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ८ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा 
वडा कार्यालयकाे निर्माणाधिन भवन ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को नयाँ कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वडाको  गर्पाधुरीमा गत वर्ष मंसिर १९ गतेबाट सुरु गरिएको वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । निर्माणाधिन भवनको रंग रोगन र झ्याल ढोका जोड्ने काम भइरहेको वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा कार्यालयको भवन दुई तलाको छ । भुइँ तलामा ४ कोठा र माथिल्लो तलामा एउटा हल सहित शौचालय र बाथरुम निर्माण गरिएको छ । निर्माणाधिन वडा कार्यालय भवनको रंगरोगन र झ्याल ढोका जोड्ने काम सकिए लगतै नयाँ भवनबाट वडाको काम संचालन गरिने वडा अध्यक्ष थापाको भनाई छ । 

भवन निर्माणको काम वितेको असार मसान्तसम्म सक्नुपर्ने भएपनि तोकिएको समयमा निर्माणको काम नसकिएपछि म्याद थपिएको थियो । असार मसान्तसम्म काम सक्ने गरी ४० लाख ९५ हजार ७ सय ९५ रुपैंयामा जिम्मा लिएको एबिबी निर्माण कम्पनीले समयमै काम नसकेपछि फागुनसम्म काम सक्ने गरी म्याद थप गरिएको मुसिकोट नगरपालिकाका इन्जिनियर पहलबहादुर पुनले बताउनुभयो ।

निर्माणको काम अन्तिम चरणमा पुगेकोले दोस्रो पटक थपिएको समयभित्रै निर्माणको काम सकिने वडाले अपेक्षा गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update