
रुकुम पूर्व हिमाली जिल्ला जहाँ वर्षमा दुई बाली मात्र उत्पादन हुन्छ । हिउँदे र बर्खे बाली । हिउँदमा गहुँ, जौँ र बर्खे बालीमा मकै, आलुलाई यस जिल्लामा मुख्य बालीको रूपमा लिइन्छ । जिल्लाको माथिल्लो भेगमा त वर्षमा एक बाली नै उत्पादन हुने गरेको छ । यस जिल्लामा पुर्खाले हिउँदे र बर्खे बालीको मात्र खेतीपाती गर्दै आउनु भएको थियो । अहिले पनि उक्त खेतीपाती गर्ने प्रणाली नै छ ।
तर, जिल्लाको सिस्ने गाउँपालिका–६ ढकालबाराका एक कृषकले बर्खे बाली मकै, हिउँदेयममै राम्रो उत्पादन गर्नु भएको छ । सिस्ने–६ ढकालबाराका निशा शाही हमालले जिल्लामै पहिलो पटक तीन सय ५० वर्ग मिटर क्षेत्रफल जग्गामा बेमौसमी मकै उत्पादन गर्नु भएको छ । बेमौसमी मकै उत्पादनका लागि जिल्लाको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको प्राविधिक सहयोग रहेको छ । मकैको जात स्थानीय पहेँलो रहेको छ ।
गत भदौ महिनाको पहिलो सातामा रोपिएको मकै हाल पोली खाने भएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । “मौसमी खेतीपातीलाई बेमौसमी खेतीपाती गर्दा मेहनत धेरै चाहिन्छ” प्रमुख बस्नेतले भन्नुभयो –“बेमौैसमी बाली उत्पादनका लागि कृृषकले कृषि प्राविधिककोे सल्लाह तथा कृषि प्रविधिमा ध्यान दिनु पर्छ ।”
जस अनुसार रुकुमपूर्वमा पहिलो पटक कार्यालयको प्राविधिक सहयोगमा कृषक शाहीले बेमौसमी मकै उत्पादन गर्न सफल हुनुु भएको बस्नेतको भनाइ रहेको छ । “परीक्षणको लागि पहिलो पटक एक ठाउँमा मात्र बेमौसमी मकै लगाइएको हो” बस्नेतले भन्नुभयो –“उक्त परीक्षण सफल भएकोले अब जिल्लामा मौसमी खेतीपाती मात्र नभई कृषक बेमौसमी खेतीपातीमा आकर्षक हुने देखिएको छ ।”
हाल शाहीले लगाउनु भएको बेमौसमी मकै हेर्न दैैनिक मान्छे जाने गरेका छन् । “पहिले दाङ, काठमाण्डाँै तिर जादा पुस, माघमा हरियो पोलेको मकै देख्दा कस्तो अचम्म लाग्थ्यो” सिस्ने–६ का वशन्तकुमार श्रेष्ठले भन्नुभयो –“तर आज जिल्लामै पहिलो पटक पुस महिनामै रुकुमकोटमा हरियो पोलेको मकै खान पाइयो ।” कृषक शाही र कृषि कार्यालयलाई धन्यवाद दिँदै भन्नुभयो श्रेष्ठले “अब विस्तारै तीनवटै पालिकामा बेमौसमी खेतीपातीको आकर्षण पनि बढ्ने छ ।”